काठमाडौं, २९ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद प्रेम आलेले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको र अब चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । सो निर्वाचनलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)पनि सत्तारोहणको तयारीमा छ । सो दलले तीन मन्त्रालय मागेको छ। १० सिट रहेको नेकपा (एस) बाट मन्त्री बन्न ईच्छुक नेताहरु धेरै छन् । अध्यक्ष माधवकुमार नेपालले यसपटक नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी गरेका छन् । पार्टीबाट प्रकाश ज्वाला, धनबहादुर बुढा र राजेन्द्र प्रसाद पाण्डेको नाम मन्त्री बन्नेको चर्चामा छ ।
तर, डोटीमा निर्वाचित प्रेम आलेले पनि सरकारमा सहभागी हुने चाहना देखाएका छन् । उनले त्यसको लागि कांग्रेस सभापति देउवामार्फत अध्यक्ष नेपालसमक्ष दबाब बढाएका छन् । यही सन्दर्भमा उनले आज सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गरेको स्रोतको दाबी छ ।