काठमाडौं, १ चैत्र । नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचनको शून्य समयमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको प्रति एमालेले आयोगमा उजुरी दिएको हो । एमालेका सचेतक महेश वर्तौलाले रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसले निर्वाचनको निश्पक्षता र स्वतन्त्रतालाई नै समाप्त पार्न खोजेको आरोप लगाए ।
‘नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत शून्य समयमा उहाँहरुले आज निर्णय गरेर रामसहाय यादवलाई भोट दिन आफ्ना सांसदहरुलाई निर्देशन गर्नुभयो । यो निर्वाचन आचारसंहिता विरुद्धको काम हो । त्यसकारणले गर्दा यो नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्यानउनु पर्छ भन्दै अहिले हामीले उजुरी दायर गरेका छौं,’– वर्तौलाले भने ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा हुने मतदान गोप्य मतदान भएको र निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा कांग्रेसले आफ्ना सांसदहरुलाई रामसहाय प्रसाद यादवलाई मतदान गर्न निर्देशन दिनु आपत्तिजनक र दुःखद् भएको उनले बताए । ‘यो गोप्य मतदान हो । गोप्य मतदान भएको ठाउँमा त्यो पनि निर्वाचन आचारसंहिता लागुभइसकेपछि उहाँहरुले निर्वाचनको निश्पक्षता र स्वतन्त्रतालाई नै समाप्त पार्ने गरी उहाँहरुले राम्रो गर्नुभएन । उहाँहरुले सिंगो निर्वाचनको मर्यादालाई नष्ट पार्नुभयो । यसप्रति हामी दुःख व्यक्त गर्न पनि चाहन्छौं । निर्वाचन आयोगलाई हामीले कारबाहीको लागि अपील गरेका छौं,’– उनले भने ।
नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकबाट रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने निर्णय गरेको थियो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले उक्त निर्णय सुनाएपनि लिखित निर्णय सार्वजनिक गरिएको छैन ।