Logo

उपराष्ट्रपति पदका लागि आज मतदान, यस्तो छ तयारी



काठमाडौं, चैत ३ । उपराष्ट्रपति पदका लागि आज मतदान हुदैछ । मुलुकमा उपराष्ट्रपतिका लागि निर्वाचन हुन लागेको यो चौथोपटक हो । निर्वाचन बानेश्वरस्थित संघीय संसद् परिसरमा हुनेछ ।

निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रिय सभाका ३ सय ३१ र सातवटै प्रदेशसभा ५ सय ५० गरी ८ सय ८१ जना कुल मतदाता रहेका छन् ।

उपराष्ट्रपतिका लागि पहिलो निर्वाचन २०६७ श्रावण, २०७२ कार्तिक र २०७४ फाल्गुनमा भएको थियो । नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झा, दोस्रो र तेस्रो उपराष्ट्रपतिको कार्यकाल नन्दकिशोर पुन ‘पासाङ’ ले सम्हालेका थिए । उपराष्ट्रपति नन्दकिशोर पुनको पाँच वर्षको पदावधि भोलि शनिबार सकिने भएकाले नयाँ उपराष्ट्रपति पदको लागि निर्वाचन हुन लागेको हो ।

उपराष्ट्रपति पदका लागि मूलतः तीन जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (बोहरा), र जनमत पार्टीका ममता झा रहेका छन् ।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैंचातर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्