तुलसीपुर, ५ चैत । जापानी नागरिक डा. युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेका छन् । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेका हुन् ।
चार वर्षअघि तुलसीपुर आउँदा उहाँले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल रोगका बारेमा जानकारी पाएको जनाउँदै त्यसमा पनि आफूले अध्ययन गर्न थालेको बताए। “मैले चार वर्षअघि दाङको तुलसीपुरमै मधुमेह रोगका बारेमा अनुसन्धान गरेर विद्यावारिधि गरेकी छु”, नेपाली भाषामा डा. नाकामुराले भने, “मैले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल एनिमियाबारे जानकारी पाएँ, अहिले यसकै रिसर्च गरिरहेकी छु ।” यहाँ चार वर्षअघि तुलसीपुर आएर करिब तीन महिना तुलसीपुर बसेको थियो । त्यतिबेला सिकलसेलका बारेमा केही अध्ययन गर्न पाएको बताए। बीचमा पनि नेपाल आएर त्यो रोगका बारेमा अध्ययन गर्ने योजना रहे पनि कोभिडले गर्दा आउन नपाएको बताए।
अहिले उनीे एक हप्ताका लागि पुनः नेपाल आएका छन् । उनले एक हप्तासम्म दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाका सिकलसेल एनिमिया पीडितसँग भेटघाट गर्नेछन् । त्यसपछि पुनः जापान फर्किने उहाँले बताउनुभयो । आगामी असारमा पनि पुनः नेपाल आएर बिरामीसँग भेटघाट गर्ने बताए ।
डा. नाकामुरालाई थारू स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष जीवराज चौधरीलगायतले स्वागत गरेको थियो । त्यस अवसरमा अध्यक्ष चौधरीले सरकारले नै यो रोगका विषयमा चासो नदेखाएको अवस्थामा जापानी नागरिकले अध्ययन, अनुसन्धान गर्नु आफ्ना लागि ठूलो सहयोग रहेको बताए । उनले सरकारी अध्ययनअनुसार नेपालमा ११।३ प्रतिशत थारू समुदायमा यो रोग लाग्ने गरेको तथ्याङ्क छ । तर पूर्णरूपमा थारू समुदायमा सिकलसेल परीक्षण नहुँदा त्यसले आधिकारिकता पाउन नसकेको भन्दै सबै थारू समुदायमा सिकलसेल एनिमिया जाँच हुनुपर्ने बताए ।
सिकलसेल एनिमियाबाट धेरै जनाको मृत्यु भइसकेको र केहीले उपचारमा रु २० लाखभन्दा पनि बढी खर्च गरिसकेको बताए । यस्तो रोगको उपचारका लागि अहिलेसम्म नेपालमा अस्पतालसमेत स्थापना हुन नसकेको बताए । आफूहरूले बाँकेको नेपालगन्जमा सिकलसेल एनिमिया अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि त्यसमा राज्यले उचित तरिकाले हेर्न नसकेको दुःखेसो पोखे । साथै डा. नाकामुराले सोही अस्पतालका लागि रु एक लाख सहयोग गरेका छन् । रासस