Logo

अबको सम्पूर्ण ध्यान संगठन र जनजीविकामा : यामलाल कँडेल



काठमाडौं, ६ चैत्र । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माण र जनजीविकाका मुद्दाहरुको पैरवीमा केन्द्रित हुने उल्लेख गर्दै त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लामा भइरहेको कामका बारेमा अनुगमन गर्न आएका इन्चार्ज कँडेलले सोमबार विहान सदरमुकाम खलंगामा आयोजित चन्दननाथ नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भने,‘एमालेलाई घेराबन्दी गर्ने काम भएको छ । यसलाई जनताको बलमार्फत् परिवर्तन गरेर अगामी निर्वाचनबाट बहुमतप्राप्त दलका रुपमा रुपान्तरण गर्न हामी अहिलेदेखि नै लाग्नुपर्छ । आफ्नो खुट्टामा दृढतापूर्वक उभिन सक्यौँ भने मात्रै हामीले अरुका घेराबन्दीलाई चिर्न सक्छौँ । त्यसका लागि संगठन निर्माण जनताका जीविकाका प्रश्नहरुलाई हामीले महत्वका साथ उठान गर्नुपर्छ ।‘

इन्चार्ज कँडेललेआफूले जुम्लाको अवस्था हेर्दा एमालेप्रति आकर्षण र विश्वास पर्याप्त मात्रामा रहेको पाए पनि होहल्ला गर्ने, मरेको राजतन्त्रलाई जिउँदो बनाउँछौँ भनेर यहाँका दुर्गम वस्तीमा भ्रम छर्नेहरुले चुनाव जितेको पाउँदा आश्चर्य लागेको बताए । पार्टीको समानुपातिक मत जति पनि आफ्नो उम्मेदवारलाई मत नआउने स्थितिको अन्त्य गर्नासाथ जुम्लामा एमालेले विजय हासिल गर्ने विश्लेषण उनले सुनाए ।

बैठकमा जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका केन्द्रीय सदस्य विष्णु रिजालको पनि उपस्थिति थियो । नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायको अध्यक्षतामा आयोजित बैठकमा हालसम्मको मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै नगरभित्र अझ प्रभावकारी बनाउनेबारेमा कार्ययोजना बनाइएको छ ।

जुम्लामा अभियानका अनुगमनका लागि इन्चार्ज कँडेल आइतबार जुम्ला आइपुगेका हुन। आइतबार साँझ नै उनले जुम्ला जिल्लाभरको समग्र कामका बारेमा जुम्लाका खटिएका केन्द्रीय प्रतिनिधि र जिल्लाका पदाधिकारीहरुसँग बैठक बसी जानकारी लिएका थिए ।

जुम्लामा भइरहेका कामका बारेमा केन्द्रीय प्रतिनिधिहरु विष्णु रिजाल, नगेन्द्र शाही (नेशनल) र गेहेन्द्र दाहालका साथै जिल्ला अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही र सचिव धनकृष्ण पाण्डेले जानकारी दिएका थिए । अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न उहाँले निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्