Logo

प्रचण्डले पहिले बोलेको कुरा पो रहेछ भन्नुभो : पूर्वमन्त्री प्रधान



काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद ध्रुवबहादुर प्रधानले आफ्नो दल सत्तालिप्सामा नलागेको बताएका छन् ।
‘हामी कहिले पनि सत्तामा जान लालायित भएका होइनौं । देशमा राजनीतिक स्थिरता हुन्छ भनेर सरकारमा गएका हौं । तर दुईदुईचोटि प्रधानमन्त्री भएको व्यक्तिले ठाउँ छाड्नुभो । सत्ताको फोहोरी खेलको अनुभूति हुन थालेपछि हामी एक दिन पनि सरकारमा रहेनौं । सत्तालिप्सा भएको भए किन सजिलै छाड्थ्यौं र ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रधानले भने ।
उनले राप्रपाले आफ्नो एजेन्डा छाडेर सरकारमा नगएको पनि दाबी गरे । प्रधानले थपे, ‘सिद्धान्त हामीले कहिले बेच्यौं र ? हामीले एजेन्डा कहिल्यै छाडेका छैनौं ।’ गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्याउने प्रचण्डलाई प्रधानमन्त्री मानेर सरकारमा किन जानुभयो त भन्ने प्रश्नमा प्रधानले भने, ‘गणतन्त्र र संघीयता उहाँको कारणबाट मात्र आएको होइन । घरीघरी श्रेय लिनु जरुरी छैन । हामीले प्रचण्डलाई स्वीकार गरेका पनि होइनौं ।’
कानुनमन्त्री हुँदा आफूले गलत नबोलेको पनि उनले बताए । प्रधानले भने, ‘मैले संविधानविपरीत बोलेको होइन । कसैलाई त्यस्तो लाग्छ भने संविधान पढे हुन्छ । मैले गैरजिम्मेवार अभिव्यक्ति दिएको छैन । नेपालको प्राण भनेको धार्मिक अस्तित्व र राजसंस्था हुन् । त्यो प्राप्तिका लागि अहिलेको म्यान्डेटबाट सम्भव छैन भन्नु कसरी संविधान विपरीत हुन्छ ? प्रधानमन्त्री प्रचण्डले पनि तपाईंले पहिले बोलेको पो हो रहेछ भन्नुभो ।’

 



प्रतिक्रिया दिनुहोस्