Logo

एमाले नेतृत्वका प्रदेश सरकार धमाधम संकटमा



काठमाडौं, चैत ११। १० पुसमा एमालेको पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि प्रदेशमा गठित एमाले नेतृत्वको सरकार धमाधम संकटमा पर्दै गइरहेको छ ।

संघीय संसद्को दोस्रो ठूलो दल एमालेको पहलमा ३२ सिटको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि एमालेले कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएको थियो । माओवादी केन्द्रले बाग्मती र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउँदा नेपाल समाजवादी पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पाएको थियो ।

जसमध्ये एमालेले पाएको चार मुख्यमन्त्रीमध्ये सुदूरपश्चिम प्रदेशको नेतृत्व एमालेले राष्ट्रपति निर्वाचनअगावै गुमाइसकेको छ । सो प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्दा उनले विश्वासको मतसमेत पाइसकेका छन् ।

सुरुमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गुमाएको एमाले राष्ट्रपति निर्वाचनपछि गण्डकी, लुम्बिनी र कोसी प्रदेशको नेतृत्व पनि गुमाउने अवस्थामा पुगेको छ । यद्यपि, संसदीय अंकगणितका कारण कोसी प्रदेशको मुख्यमन्त्री भने जोगिने झिनो सम्भावना भने कायमै छ ।

राजनीतिक उतार चढावका कारण शुक्रबार मात्र बाग्मती प्रदेशबाट एमालेका मन्त्रीहरू बाहिरिएका छन् । बाग्मती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बन्दा राप्रपा र एमालेले समर्थन गरेको थियो । सो प्रदेशमा राप्रपासमेत सरकारमा सहभागी थियो । तर, राष्ट्रपति निर्वाचनलाई लिएर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीसमेत फिर्ता बोलाएपछि शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत मागेका थिए ।

शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत त पाए । तर, एमाले भने सरकारबाट बाहिरिएको छ । बाग्मती प्रदेश सरकारमा चार मन्त्रालयको जिम्मेवारी लिइरहेको एमालेले शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउनुअगावै सरकार छाडेको हो । बाग्मती प्रदेशमा नेकपा एमालले अर्थ, कृषि स्वास्थ्य र यातायात मन्त्रालय सम्हादै आएको थियो ।

गण्डकी प्रदेश सरकारको सत्ताघटक नेकपा (माओवादी केन्द्र)ले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ । माओवादी सरकारबाट बाहिरिएसँगै गण्डकी सरकार पनि अल्पमतमा परेको छ । लम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री छन् । त्यहाँ पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिने तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्