Logo

नेता रिझाउँदै तनहुँका उम्मेदवार



काठमाडौं, चैत ११। उपनिर्वाचनको मिति घोषणा गरिएसँगै तनहुँ १ र चितवन २ मा राजनीतिक चहलपहल सुरु भएको छ । तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले आवश्यक तयारी थालिसकेको छ । गत ४ मंसिरमा सम्म तनहुँ–१ मा १ लाख २३ हजार ४ सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार ९ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार पौडेल २५ हजार ३ सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनका लागि कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला पार्टी सभापति रघुनाथ पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल आकांक्षी छन् । दुईपटक पार्टीको केन्द्रीय सदस्य हुँदा पनि आफूले अवसर नपाएकाले योपटक आफूले टिकट पाउने केन्द्रीय सदस्य भट्टराईले बताए । भट्टराईले केही दिनअघिदेखि नै गाउँगाउँमा पुगेर मतदाता भेटघाट गरिसकेका छन् ।

‘पार्टीका सभापति शेरबहादुर देउवासँग पनि भेट गरिसकेको छु । उहाँले उपनिर्वाचनको तयारी गर्नु भनिसक्नुभएको छ, मैले टिकट पाउनेमा कुनै शंका छैन’ उनले भने ।

यता, रघुनाथ पौडेलले तीन कार्यकाल जिल्लाको नेतृत्व गरेकाले आफूले टिकट पाउनुपर्ने भन्दै लबिङ थालेका छन् । आफूले अहिलेसम्म अवसर नपाएकाले एकपटक अवसर पाउनुपर्ने भन्दै उनी पनि राजधानीमा नेताहरूसँग भेटघाटमा लागिसकेका छन् ।

यस्तै, संविधानसभा सदस्य पोख्रेलले २०४६ सालदेखि बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन लड्ने चाहना रहेको बताए । ‘अहिलेसम्म मैले प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएको छैन । यसपटक नेतृत्वले आफूलाई टिकट दिनेमा विश्वस्त छु’ पोख्रेलले भने ।

एमालेका तर्फबाट एकबहादुर राना, रामबहादुर गुरुङ, किरण गुरुङलगायत आकांक्षी रहेका छन् । गत मंसिरमा निर्वाचन लडेर पराजित भएका रानाले पार्टीले निर्णय गरेमा उपनिर्वाचनमा उम्मेदवार बन्ने बताए ।

नेकपा (एकीकृत समाजवादी)ले पनि उपनिर्वाचनमा सो सिटमा दाबी गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले मंसिर ४ को निर्वाचनमा तत्कालीन गठबन्धनलाई विजयी गराउन खेलेको भूमिकाका आधारमा उपनिर्वाचनमा आफूहरूले सो सिट पाउनुपर्ने निष्कर्ष निकालेको हो ।

तनहुँ–१ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनमा सो निर्वाचन क्षेत्र छाडेर बारा ४ मा गएको र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेकाले अब उपनिर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दाबी गर्ने निर्णय भएको जिल्ला अध्यक्ष कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस्