काठमाण्डौ, चैत ११ । ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाण्डौ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ ।
पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निःशुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो । नागरिकलाई साँस्कृतिक सम्पदाहरु आफ्नो हुन् भनेर अनुभूति गराउनका लागि रानीपोखरी खुला गरिएको हो ।
कुनै अवरोध नआए पोखरी सधैं सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ । पोखरीको सरसफाइको काम महानगरपालिकाले गर्नेछ ।
२०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माण भएको छ ।
पुनःनिर्माण सकेर २०७७ साल कात्तिक ५ गते नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ साल पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो ।