काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहलाई मन्त्री बनाउने तयारी गरेका छन् । बालुवाटारनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेका छन् ।
उनले सत्ता गठबन्धनमा रहेका सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले पनि आजै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भएको छ । कांग्रेसले १० मन्त्रालय मागेको छ।
तर, प्रधानमन्त्री दाहालले भने आठ मन्त्रालय दिने प्रस्ताव गरेका छन् । माओवादीले भने प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिने भएको हो । प्रधानमन्त्री दाहालले आजपाका अध्यक्ष तथा सांसद साहलाई राम्रो मन्त्रालय दिने तयारी गरेका छन् ।
एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर जित हाँसिल गरेका साह विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । साहलाई मन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवापनि तयार छन् । देउवाले पनि सरकारमा सहभागी हुन साहलाई आग्रह गरेका छन् । file photo/ReportersNepal