Logo

उपेन्द्र यादवविरुद्ध कसैलाई उठाएरै छाड्छु भन्नु सीके राउतको बालहठ होः जसपा प्रवक्ता



काठमाडौं, १६ चैत । जनता समाजवादी पार्टीका प्रवक्ता मनीषकुमार सुमनले कसले कुन मन्त्रालय लिने भन्नेबारे गठबन्धनमा छलफल बाँकी नै रहेको बताएका छन् ।
‘गठबन्धनमा हिजो संख्याको सहमति सुनाइएको छ । तर कसले कुन मन्त्रालय लिने भन्ने फेरि छलफल गर्न बाँकी रहेको देखियो । सहमति लिपिबद्ध भएको छैन । राष्ट्रपतिबाट शपथ नभएसम्म यसको टुंगो हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सुमनले भने । आफ्नो पार्टीले साथी व्यवस्थापनका लागि एउटा राज्यमन्त्रीको पनि माग गरेको उनले बताए ।
बारा २ को उपनिर्वाचनमा पार्टी अध्यक्ष उपेन्द्र यादव नै उम्मेवार बन्ने सुमनले औंल्याए । उनले भने, ‘त्यस क्षेत्रका ६ हजारभन्दा बढी व्यक्तिले हस्ताक्षर गरेर पार्टी कार्यालयमा हामीलाई उपेन्द्र यादव नै चाहियो भनेर एकल सिफारिस गरेर पठाएकाले उहाँ नै उम्मेदवार हुने निश्चित जस्तै छ । तर जसपाले अन्तिम निर्णय गर्न बाँकी छ ।’
उपेन्द्र यादव सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने ठोकुवा पनि उनले गरे । सुमनले जनमत पार्टीले पनि यादवलाई नै सघाउनुपर्ने तर्क गरे । उनले भने, ‘सीके राउतजी पनि गठबन्धनको सदस्य हो । उहाँले गठबन्धनको साझा उम्मेदवारलाई सघाउनुपर्छ । उपेन्द्रजीले निर्विकल्प जित्नुहुन्छ । यसमा तर तापनि भन्ने कुरा छैन । उपराष्ट्रपतिको चुनावजस्तै जमानत जफत हुने गरी उम्मेदवार उठाउनु सीके राउतजीको बालहठ हुन्छ ।’
बारा २ को उपनिर्वाचनलाई लिएर मधेस प्रदेशको सत्ता साट्न नमिल्ने पनि उनले बताए । उनले थपे, ‘मधेस प्रदेशमा एमाले, कांग्रेस र जसपा ठूला पार्टी हुन् । जनमत पार्टीको रोल नम्बर ४ हो । सत्ता गठबन्धनमा पहिलो पार्टी कांग्रेसको हो । यसबारे कांग्रेस र जसपाबीच छलफल हुन बाँकी छ । सँगै सरकार चलाउनुपर्छ । आलोपालो गर्न सकिन्छ । कांग्रेसका प्रदेश अध्यक्ष कृष्णा यादवले आफ्नो इच्छा व्यक्त गर्नुभएको होला । तर प्रदेशको निर्णय केन्द्रबाट हुन्छ । बारा २ को निर्वाचनलाई मधेस प्रदेशको सरकारसँग किन साट्ने ?’



प्रतिक्रिया दिनुहोस्