Logo

‘पत्रकारितामा ऋषि धमलाको र राजनीतिमा मेरा अनुभवमा कहीँ न कहीँ समानता छन्’ : प्रधानमन्त्री दाहाल (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामू देखिएका अहिलेका सबैखाले चूनौतिहरुको समाधान गरिने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने–‘रिपोर्टर्स क्लबले २५ वर्ष पूरा गरेको छ। धेरै घुम्तीहरु, अप्ठ्यारा, मोडहरु, जटिलता, चूनौतिहरु, आलोचना र प्रशंसा र आरोह–अवरोह पार गरेर ऋषि धमला यहाँ आईपुग्नुभएको छ । म उहाँलाई बधाई र शुभकामना भन्न चाहन्छु । सफलता प्राप्त गर्न तितामिठा अनुभवबाट गुज्रिनुपर्छ । अग्गिपरीक्षा पार नगरी कुनै धातु चम्किलो हुँदैन् । मैले आँफैले जीवनमा जे भोगें, युद्धदेखि शान्ति प्रक्रियासम्म, प्रधानमन्त्री हुँदा, विपक्षी दलको नेताको रुपमा मैले जे भोगें, सबै कुराबाट म गुज्रिएको हेर्दा, ऋषि धमलाको जीवन पनि, खासगरी पत्रकारिताको क्षेत्रमा तितामिठा अनुभव, मैले भोगेजस्तो आलोचना सबै छ । कुनै न कुनै रुपले ऋषि धमलामाथि प्रहार भैरहेको छ । परिवर्तनको वाहक हुँदा मलाई पनि प्रतिरोध गर्न रोकिएको छैन् ।’

प्रधानमन्त्री दाहालले ऋषि धमलामा आफूले कहीँ न कहीँ ‘पत्रकारिताको क्षेत्रमा ऋषि धमलाको अनुभव र राजनीतिमा आफ्नो अनुभव’ मा समानता पाएको उल्लेख गरे । उनले भने,‘अघि यहाँ सम्बोधन गर्ने क्रममा ऋषिजीले मलाई नआँत्तिनुहोस भन्नुभयो, म आँत्तिएको छैन् । मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु । आजको दिन विशेष दिन भएको छ । सरकारको नेतृत्व गरेको सय दिन पुग्दा नपुग्दै, नयाँ–नयाँ राजनीतिक समिकरण देखिएका छन् । यहाँ सम्माननीय सभामुख हुनुहुन्छ, उहाँलाई सभामुख बनाउन मेरो भूमिका छ। रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनपनि मेरो भूमिका छ। सरकारलाई पूर्णता दिएको छु । मूलभुत रुपमा सरकारले पूर्णता पाएको छ । अब मैले अघि भनेजस्तै विकासका कामले गति लिनुपर्छ ।’

प्रधानमन्त्री दाहालले देश अहिले आर्थिक रुपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गरे । उनले भने,‘सुशासनको कुरा पनि छ । सरकारको १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ –मैले पहिलोपटक क्याविनेट बस्दा अर्थतन्त्रको सुधारको कुरा गरेको थिएँ । जनताले लिने सेवामा पनि सास्ती घटाउने कुरा गरेको थिएँ। अहिले ती कुरा हेर्दा सुधार भएको अनुभव छ । सुधार गर्न सकिन्छ भन्ने विश्वास बढेको छ । रेमिट्यान्सको स्थितिमा गुणात्मक सुधार छ, राजश्व संकलनमा पनि सुधार छ । हामी विदेशी सञ्चितीमा त धेरै राम्रो अवस्थामा आईपुगेका छौं । मैले प्रधानमन्त्रीको हैसियतमा अर्थमन्त्रालय, राष्ट्र बैंकका गभर्नसँग पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको छु ।’

प्रधानमन्त्री दाहालले मुलुकका सामू समस्या भएपनि अब सबैले मिलेर समाधान गरिने विश्वास दिलाए । उनले भने,‘सबैको सहयोगले दिगो समाधान गर्न सकिन्छ । गत साला नेपालमा श्रीलंका बन्छ भन्ने आतंकजस्तो थियो । हामी नयाँ राजनीतिक पहलका साथ अघि बढ्दैछौं । नेपालको पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ । क्लबले र यसको नेतृत्वकर्ता ऋषिजीले ताली र गालीबाट अलग पहिचान बनाउनुभएको छ । म ऋषि धमलालाई भन्छु, आँत्तिनुपर्दैन् । सफलता तपाईँसँगै आउँछ । देशको परिस्थितिमा सुशासन र न्यायको लागि सबैले मिलेर काम गर्नुपर्छ । हामीले देशलाई नयाँ ठाउँमा पुर्याउनुनै छ ।’

सो अवसरमा क्लबले रजत महोत्सवविशेष स्मारिका समेत प्रधानमन्त्री दाहाल, सभामुख घिमिरेलगायतको हातबाट संयुक्त रुपमा विमोचन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्