काठमाडौँ, १९ चैत । ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन् । स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् । चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीन वटा मूर्ति फागुन १७ गते बुधबार र फागुन २९ गते आइतबार रातको समयमा चोरी भएको थियो । चैत्यमा विसं ८२७ मा ती मूर्ति स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।
सडक अवरुद्ध गर्दै स्थानीय प्रशासन र जनप्रतिनिधिको भूमिकाको विरोधमा खबरदारी गरिरहेका चन्द्रमान महर्जनले संस्कृति र सम्पदा संरक्षणमा नगरप्रमुख वडा अध्यक्ष तथा जनप्रतिनिधि उदासिन भएको भन्दै असन्तुष्टी व्यक्त गरे। “हामीले मत दिएर जिताएका जनप्रतिनिधिलाई स्थानीय सम्पदा मासिँदा चासो हुनुपर्छ”, उनले भने ।
महानगरी प्रहरी वृत चापागाउँका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले स्थानीयवासीले साङ्केतिक रुपमा केही समय सडक अवरोध गरेको बताए । “उनीहरुले बिहान साङ्केतिक रुपमा केही समय सडकमा आवागम अवरोध गरे । अहिले सडक सञ्चालन छ । मूर्ति चोरीका सम्बन्धमा अनुसन्धान जारी छ”, उनले भने ।
महानगरीय प्रहरी वृत्त चापागाउँदेखि करिब तीन सय मिटर दुरीमा रहेको चैत्यमा राखिएका चार मूर्तिमध्ये तीनवटा चोरी भएको थियो । रासस