काठमाडौं ,२० चैत । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभाले एक सूचना जारी गर्दै बैठक दिउँसो १ बजेको लागि आव्हान गरेको छ ।
सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।
आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
उता विपक्षी पार्टीका नेताहरुले भने मुख्यमन्त्री लिला गिरीको राजीनामा माग्ने तयारी गरेका छन ।
प्रदेश सरकारमा आवद्ध माओवादी केन्द्र लगायतका घटक सरकारबाट बाहिरिसकेका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा रहेको छ । नेपाली कांग्रेस, माओवादी लगायतका दलहरुले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुत्त गर्न ५४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र पठाईसकेका छन ।