Logo

उपचुनावमा माओवादीलाई अलिकति धक्का लागेको छः गणेश साह



काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री गणेश साहले तीन क्षेत्रमा हुन लागेको उपचुनावमा आफ्नो पार्टीलाई धक्का लागेको बताएका छन् ।
‘पार्टीले बारा, चितवन र तनहुँमध्ये कहीं न कहीं चुनाव लड्नुपथ्र्यो । तर, पार्टी गठबन्धन घटकलाई नै राजनीतिक सहयोग गर्ने निष्कर्षमा पुग्यो । त्यसले पार्टीलाई अलिकति धक्का पुगेको जस्तो लाग्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै साहले भने ।
बारा २ मा पार्टीले उपेन्द्र यादवका लागि छाड्नुपरेको पनि साहले औंल्याए । उनले भने, ‘चितवन र तनहुँ पहिले कांग्रेसकै भागमा परेका हुन् । बारा २ माओवादीको भागमा परेको हो । तर रामसहाय यादवलाई उराष्ट्रपतिमा पठाएर संसदमा पुग्ने इच्छा भएकाले गठबन्धनले उपेन्द्रजीलाई नै सहयोग गर्ने मनस्थिति बनायो ।’
चुनावलाई राजनीतिमा प्रतिष्ठाको लडाइँ बनाउने बनाउनु गलत भएको पनि उनले बताए । उनले भने, ‘दलहरुले सबै थोक संसद नै हो, त्यहाँ नपुगे सबै कुरा सकिन्छ भन्ने भाष्य बनाए । हामी सिर्जनशील समाज बनाउन लागेनौं । शिक्षा, स्वास्थ्य र रोजगारीको संरचना परिवर्तनमा लागेनौं । त्यसैले धेरै ठूलो परिवर्तनको आशा छैन । निर्वाचन प्रणालीमा सुधार आजको आवश्यकता हो ।’



प्रतिक्रिया दिनुहोस्