काठमाडौं, २१ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आगामी उपनिर्वाचनमा सत्ता गठबन्धनका पाँच दलको समर्थन हुने भएको छ । उपेन्द्रलाई आफ्नो पार्टी जसपा, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा समर्थन गरेका हुन् । बारा–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने कार्यतालिका रहेको छ । सोही अनुसार हिजो (सोमबार) मनोनयन दर्तासमेत भइसकेको छ ।
बारा– २ मा उपेन्द्रलाई सत्ता गठबन्धनका पाँच दलको समर्थन रहेको जसपा केन्द्रीय प्रचार विगाभ प्रमुख पूर्ण बस्नेतले बताए । रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै उनले भने– ‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ । गठबन्धनको संयुक्त समर्थनसहितको विज्ञप्ति पनि निस्कने सम्भावना छ । सबै दलले औपचारिक रुपमा उहाँ (उपेन्द्र यादव) लाई समर्थन गर्ने भनेर निर्णय गरिसकेका छन् ।’
गत संसिर ४ मा भएको निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।