काठमाडौं २३ चैत्र । नेकपा (एकिकृत समाजवादी)का उपाध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुषालले मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नयाँवर्ष तथा बिस्काः जात्रा २०८० सालको अवसरमा आयोजित ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०को उद्घाटन गर्दै मन्त्री भुषालले भने, ‘५१ प्रतिशत किसान भएको देशमा कृषि उत्पादन आयात गर्नु दु:खद पक्ष हो।’
हाम्रो देश नेपाल कृषि उत्पादनमा पछाडि भएको र करिब २४ प्रतिशत मात्रै कृषि उत्पादनले राष्ट्रिय आयमा योगदान गरेको मन्त्री भुषालले जानकारी दिए। ‘हाम्रो अर्थतन्त्रलाई सवल बनाउन, हामी स्वस्थ हुन मौलिक (अर्गानिक) कृषि उत्पानदलाई समावेश गर्नु पर्दछ,’ मन्त्री भुषालले भने।
भक्तपुर किसानहरुको जिल्ला भएकाले जुजु धौःको प्रचारमा सबै जना लाग्नु पर्नेमा कृषि मन्त्री भुषालले जोड दिए।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले विगतका वर्षहरुमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन सबैमा आग्रह गरे।
महोत्सव यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिनसम्म चल्नेछ।