गण्डकी, २४ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या भएका बिरामीका लागि अन्तरङ्ग सेवा थप्न माग गरिएको छ ।
मानसिक स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो सेवा थप्न माग गरेका हुन् । प्रतिष्ठानमा मानसिक रोगका लागि बहिरङ्ग सेवामात्र उपलब्ध छ तर अन्तरङ्ग सेवा नहुँदा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी निजी अस्पताल धाउनुपर्ने बाध्यता छ ।
सरकारी अस्पतालमा अन्तरङ्ग सेवा नहुँदा आर्थिक अवस्था कमजोर भएका तथा जेष्ठ नागरिकलाई मानिसक रोगको उपचार गर्न समस्या भएकाले निजी अस्पताल, पुनःस्थापना केन्द्र र मानवसेवा आश्रममा जानुपर्ने बाध्यता रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
इन्सेक, कोसिस, कोपिला नेपाल, शक्ति समूह आदि संस्थाले यसअघिदेखि नै प्रतिष्ठानमा मानसिक स्वास्थ्य सेवा थप्न माग गर्दै आएका छन् । ज्ञापनपत्रमा यथाशक्य चाँडो अस्पतालमा अन्तरङ्ग सेवा सुरु गर्न माग गरिएको छ ।
प्रतिष्ठानका निर्देशक डा. खत्रीले छुट्टै भौतिक संरचना बनाएर मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी भइरहेको बताए । उनले प्रतिष्ठानमा मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता जनाए ।
जनस्वास्थ्य ऐन, २०७५ मा प्रत्येक व्यक्तिलाई मानसिक रोगसम्बन्धी सेवाको पहुँच हुनुपर्ने उल्लेख छ । नेपाल राष्ट्रिय अनुसन्धान परिषद्को अनुसन्धान प्रतिवेदनअनुसार गण्डकी प्रदेशका १० दशमलव सात प्रतिशत व्यक्तिमा मानसिक समस्या भएको देखिन्छ । रासस