काठमाडौं,२४ चैत । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा प्रहरी लगाएर स्ववियु निर्वाचन बिथोलेको आरोप लगाएका छन् ।
आजको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै बर्तौलाले अदालतको आदेशबमोजिम चुनाव हुन लाग्दा प्रधानमन्त्रीको ठाडो निर्देशनमा अमृत साइन्स क्याम्पसमा प्रहरी लगाएर निर्वाचन बिथोलिएको बताए ।
‘आज अमृत साइन्स क्याम्पसमा मतदान भइरहनुपर्नेमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीले उपत्यकाभरिका प्रहरी अस्कल क्याम्पसमा पठाएर चुनाव स्थगित गराएका छन् । अदालतको आदेशबमोजिम भोलि शनिबार हुन लागेको पाटन क्याम्पसको पनि चुनाव रोक्न खोजिँदैछ । सत्ता गठबन्धन आवद्ध विद्यार्थी संगठनले हार्ने भएपछि सरकार आफैं चुनाव बिथोल्न लागेको छ ।’वर्तौलाले भने ।