Logo

ओभरफ्लाईको अनुमती नपाएपछि युगाण्डा जान लागेको नेपाल एयरलाइन्सको उडान रद्द



काठमाडौं, चैत २८। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युगान्डा जाने नेपाली सेनाका ७७ जना सैनिकको उडान अन्तिम समयमा रोकिएको छ ।

युगाण्डा जान लागेको नेपाल वायुसेवा निगमको चार्टर्ड उडानलाई अर्को अफ्रिकी देश इरिट्रियाले ओभरफ्लाई अर्थात आफ्नो नाका माथिबाट उड्ने अनुमति नदिएपछि उडान रद्द भएको छ ।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार इरिट्रियाले अन्तिम सयममा कूटनैतिक माध्यमबाट आफ्नो मुलुकमाथि उड्ने अनुमति लिन भनेपछि सेनाको डफ्फा अदलीबदली गर्न तयार भएको निगमको चार्टर्ड उडान अन्तिम समयमा रद्द भएको हो ।

सोमबार काठमाडौंबाट दोहा हुँदै युगान्डा, त्यहाँबाट पुनः दोहा हुँदै मंगलबार काठमाडौं फर्किने तालिका रहेको यो चार्टर्ड उडान २० घण्टा हाराहारीको थियो । यो उडानका लागि दोहासम्म जाँदै गरेका निगमका चालक दलसहित १२ जना थिए ।

त्यहाँबाट यो चार्टर्ड उडानलाई युगान्डासम्म पुर्‍याउन अनि युगान्डाबाट दोहासम्म ल्याउने चार जना पाइलटसहित ६ जना क्याबिन क्रूलाई तीन दिनअघि नै दोहा पठाइएको थियो । उनीहरू अहिले त्यहीको होटलमा बसिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्