काठमाडौं, चैत २८ । मेडिकल उद्यमी रामशरण (आरएस) भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभामार्फत चुनावी मैदानमा उत्रिएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भोली चैत २९ गते काठमाडौंमा हुने महासंघको निर्वाचनमा भण्डारीले एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा दाबी गरेका छन् । मेडिकल व्यवसायमा सफल स्थापित भइसकेका भण्डारीले अब उद्योग वाणिज्य महासंघमार्फत उद्यमीहरुका मुद्दा उठाउने र देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन् । सरकारले निजी क्षेत्रका अस्पतालको पूर्वाधार र प्रविधिअनुसार वर्गीकरण गर्नुपर्ने एजेन्डासहित उनि महासंघको निर्वाचनमा होमिएका छन् ।
काठमाडौँको धुम्बाराहीस्थित अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न ह्याम्स अस्पतालका अध्यक्षसमेत रहेका भण्डारी लामो समयदेखि मुलुकको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ का बासिन्दा भण्डारीले आजभन्दा २५ वर्षअघि सिन्धुपाल्चोकबाट काठमाडौं आएर करिब १९ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरे ।
कोभिड उपचारका बेला पहिलो रोजाइका उत्कृष्ट अस्पताल बनेको कारण ह्याम्सका अध्यक्ष भण्डारीले अन्तर्राष्ट्रिय अवार्ड समेत पाईसकेका छन् । स्वास्थ्य उपकरण व्यवसायी समेत रहेका कारण उनले पछिल्लो समय जिल्लामा स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिरहेका छन् ।
उनी प्रवल जनसेवाश्री पदक पाउने सिन्धुपाल्चोकका पहिलो व्यक्ति हुन् । उनले युरोपियन इन्टरनेशनल युनिभर्सिटी पेरिसबाट विद्यावारिधीको उपाधी समेत पाएका थिए । भण्डारी पछिल्लो समयमा सामाजिक कामका कारण सिन्धुपाल्चोकमा स्थापित छन् ।
युवा उद्यमीका रूपमा सफलतापूर्वक उदाएका भण्डारी देशकै आशाका किरण बनेर छाईरहेका छन् । स्वास्थ्य तथा उद्योग व्यवसायका क्षेत्रमा अतुलनीय कार्य गर्दै रोजगारी, सेवा र देशको अर्थतन्त्रका लागि भण्डारीको भूमिकालाई राज्यलेसमेत सम्मान गर्दै आईरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा एशोसिएटतर्फ कार्यकारीको सदस्यका रूपमा हुने उनको उपस्थितिले देशकै निजी क्षेत्रको गरिमा शोभायमान बन्ने उद्योगी, व्यवसायीहरू बताउँछन् ।