Logo

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै



काठमाडौं, चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाको दोस्रो दिन बुधबारबाट नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

बुधबार बिहान ८ बजेदेखि देशभरबाट आएका महासंघका प्रतिनिधिले वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका सदस्यलाई मतदान गर्दै भएका हुन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकोले नयाँ वर्षसँगै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष हुनु हुने भएकाे छ । केही कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।

महासंघको इतिहासमा पहिलो पटक ३ जना वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवार भएकाले चुनावी माहौल निकै रोचक बनेको छ । वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, र रामचन्द्र संघई प्रतिस्पर्धामा रहेका हुन् । निर्वाचित हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने हुन्छ । त्यस्तै, उद्योग वाणिज्य समूहबाट एक, वस्तुगत समूहबाट एक र एशोसिएट सदस्य समूहबाट एक जना उपाध्यक्ष चयन हुने भएका छन् ।

महासंघ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक सदस्य चयन हुने व्यवस्था रहेकोमा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् । उद्योग वाणिज्य समूहबाट १८ खुला सदस्य पदका निमित्त ३२ जना चुनावी मैदानमा छन् भने संस्थापन सदस्य र दुई राष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि एक-एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

वस्तुगत समूहमा १४ सदस्य पदका निमित्त २८ जना प्रतिस्पर्धामा रहेका छन् भने १९ एशोसिएट सदस्यका लागि २९ जना व्यवसायी प्रतिस्पर्धमा रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्