Logo

सरुवा रोग अस्पताल शिलान्यास



चन्द्रौटा, २९ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गरेका छन् ।

अस्पतालको शिलान्यास गर्नुहुँदै उनले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताए । मन्त्री पन्थीले निर्माणाधीन अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउँदै यसलाई देशकै महत्वपूर्ण अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे ।

मन्त्री पन्थीले हरेक पालिकाको आफ्नै अस्पताल निर्माण गरिनुका साथै लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सय शय्यामा विस्तार गर्ने योजना बनाइएको बताए । सरुवा रोग अस्पतालको आफ्नै भवन निर्माण नहुँदासम्म जग्गा लिजमा लिएर सञ्चालन गरिने उनको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले जग्गा प्राप्ति, प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइइई)लगायत प्रक्रियाका कारण ठेक्का भएको १३ महिनापछि भवन निर्माण सुरु भएको बताए । उनले निर्माण ढिला सुरु भएपनि निर्धारित समयमा सम्पन्न गरिने बताए ।

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताए । प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी भवन निर्माणका लागि कपिलवस्तु छनोट गरिएको प्रदेश स्वास्थ्य सचिव डा. विनोद गिरीको भनाइ छ । उनले भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिनुका साथै प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने बताए ।

कोभिड महामारीको समयमा सङ्क्रमितलाई उपचारमा समस्या भएपछि प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको अवधारणाको विकास भएको थियो । पहिलो चरणमा ५० शय्याको अस्पताल निर्माण हुनेछ । विसं २०८१ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी रू २० करोड ९६ लाख तीन हजार तीन सय २६ मा स्काई सगुन जेभी बुटवलले ठेक्का सम्झौता गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्