काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसबाट नारायण प्रकाश(एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्।
उनको भोलि(आइतबार) ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन्।
मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ।
सत्ता गठबन्धनको भागबण्डा अनुसार कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्रालयमा कांग्रेसले मन्त्री पठाइसकेको छ।