Logo

रविले ‘फास्ट ट्रयाक’ मा लगाएको ठेक्का समपरीक्षणमा ल्याउन माग



काठमाडौं, ३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘खास्टाले ढाकेको विरालो’ को संज्ञा दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद केसीले रास्वपा अध्यक्ष एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेले स्वार्थको आधारमा नियम कानुन विपरीत ठेक्का लगाएको बताएका हुन् । नेपाली जनताले नयाँ पार्टीबाट नयाँ कामको अपेक्षा गरेपनि रवि पनि आफ्नो स्वार्थका लागि पुरानै दलको शैलीमा प्रस्तुत भएको उनको दाबी छ ।

‘पुराना पार्टीहरुले नै गल्ती, कमी कमजोरीहरु गरेका थिए । आफ्ना स्वार्थअनुसार नियम कानुन बनाउँथे । नयाँ आएकाहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिराखेका थिए । खास्टाले ढाकेको विरोलो छिट्टै म्याउँ गर्यो । यस्ता प्रवृत्तिलाई त्यसै छोड्न हुन्न,’– उनले भने ।

राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न नीजि कम्पनीलाई ठेक्का दिने काम आपत्तिजनक रहेको उनको भनाई छ । नागरिकका व्यक्तिगत तथा जैविक तथ्याङ्कमा विदेशी कम्पनी र तिनका एजेण्टले पकड राख्ने उनले बताए । देशको विधि विधानमा कसैको आर्थिक स्वार्थ हाबी हुन नहुने उनको भनाई छ । उक्त ठेक्कालाई कानुनी समपरीक्षणमा ल्याउन आवश्यक रहेको उनले बताए । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्