Logo

रवि समर्थकको बढ्दो अराजकता



काठमाडौं, वैशाख ४ । भरतपुर महानगरपालिका–११ भोजाहट, चितवनकी २१ वर्षीया प्रतीक्षा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मत नदिने भनेकै कारण सामाजिक सञ्जालमा तथानाम गाली व्यहोरिरहेकी छन्।

कपुरबोट मिडियाले केही दिनअघि उनीसँग चितवन–२ को चुनावी माहोलका विषयमा अन्तरवार्ता लिएको थियो। अन्तरवार्तामा अधिकारीले मंसिर ४ को निर्वाचनमा आफूले घन्टी (रास्वपा चुनाव चिन्ह) मा भोट दिएको बताउँदै अब नदिने बताएकी छन्। रवि ‘टुरिस्ट’ रहेको टिप्पणी गर्दै उनले अब आफू नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई मतदान गर्ने बताएकी छन्।

कपुरबोट मिडियाले केही दिनअघि उनीसँग चितवन–२ को चुनावी माहोलका विषयमा अन्तरवार्ता लिएको थियो।

अधिकारीले यति बोलेकै कारण सामाजिक सञ्जालमा रास्वपाका सभापति लामिछानेका समर्थक नराम्ररी जाइलागेका छन् । जसले ‘श्रद्धाञ्जली’ देखि लिएर निकृष्ट भाषामा अश्लील गाली बर्साइरहेका छन्। ‘बाहिर निस्कनै गाह्रो भइरहेको छ। पूरै नराम्रानराम्रा गाली गरिरहेका छन्’, अधिकारीले दुखेसो गर्दै भनिन्, ‘कति पैसा खाएर बोलिस्? भनेर सोध्छन्। आफ्नो चाहना र धारणा राख्दा यतिसम्म गिरेर बोल्नेले कसरी देश बनाउँछन्?’

लामिछानेका समर्थनकहरू अधिकारीको सोही भिडिओलाई लिएर अश्लील रूपमा उत्रिएपछि अहिले कपुरबोट मिडियाले उक्त भिडिओ सामाजिक सञ्जालबाट हटाएको छ।

अधिकारीको जस्तै अवस्था चितवनकै कालिका नगरपालिकाकी सुजना मल्लको पनि छ। उनले पनि कपुरबोट मिडियामा आफ्नो धारणा राख्दै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई भोट हाल्ने बताएकी थिइन्।

लामिछानेका समर्थनकहरू अधिकारीको सोही भिडिओलाई लिएर अश्लील रूपमा उत्रिएपछि अहिले कपुरबोट मिडियाले उक्त भिडिओ सामाजिक सञ्जालबाट हटाएको छ।

यति भनेपछि लामिछानेका समर्थक सामाजिक सञ्जालमा उनीमाथि पनि अश्लील स्तरमा जाइलागे। अश्लील गालीबेइज्जतीको वर्षा हुन थालेपछि मल्लसँगको अन्तरवार्ताको भिडिओ पनि कपुरबोट मिडियाले हटाइसकेको छ।

यी केही उदाहरण मात्रै हुन्, लामिछाने र रास्वपाको विपक्षमा धारणा आउनासाथ सामाजिक सञ्जालमा समर्थकहरू यसैगरी निम्नस्तरमा उत्रिएर गाली वर्षाउन सुरु गर्छन्। लामिछाने र रास्वपाको आलोचनात्मक टिप्पणी, सामग्री र विश्लेषण आउनासाथ भर्रर ‘आरआइपी’ (श्रद्धाञ्जली), दलाल, झोले, देशद्रोही लगायतका निम्न स्तरका ‘कमेन्ट’ बर्सन थाल्छ। महिलालाई निकृष्ट र यौनजन्य टिप्पणी गरेर निरुत्साहित गर्न कोसिस गर्छन्।

लामिछाने र रास्वपा समर्थकको भीड सामाजिक सञ्जालमा जति अश्लील भाषामा उत्रिरहेको छ, त्योभन्दा धेरै अराजक पनि बन्दै गइरहेको छ। उनका समर्थकको भीडले सामाजिक सञ्जालदेखि सडकसम्म अराजकता मच्चाइरहेको छ। त्यसैको एक उदाहरणका रूपमा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको टेकुस्थित कार्यालयअगाडिको घटनालाई लिन सकिन्छ।

लामिछानेविरुद्ध नागरिकता र राहदानी विवादमा सर्वोच्च अदालतमा रिट हालेका सिन्धुलीका युवराज पौडेल ‘सफल’ आइतबार प्रहरीपरिसर कार्यालय पुगेका थिए। उनी त्यहाँ पुगेलगत्तै लामिछानेका समर्थक युट्युबरसहितको भीडले उनलाई घेर्‍यो। त्यसपछि पौडेलमाथि जाइलागेको उक्त भीड धक्कामुक्कीमा उत्रियो। रास्वपा सभापति ‘राजनेता’ रहेको बताउँदै भीडमा रहेका केही व्यक्तिले ‘दादा’ शैलीमा पौडेलमाथि भौतिक आक्रमण प्रयास गरेका छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्