काठमाडौं, ४ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कार्यभार सम्हालेको आज ९९ दिन पुरा भएको छ । गत पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले यो बीचमा प्रदेश सभाबाट दुई पटक विश्वासको मत लिए । तर, अहिलेसम्म मन्त्रिपरिषद्ले भने पूर्णता पाउन सकेको छैन ।
गत पुष २५ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पुष २६ गते पद तथा गोपनीयतको शपथ लिँदै सोही दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले माघ ३ गते विश्वासको मत लिए । कूल ११० सदस्यीय प्रदेश सभामा उनको पक्षमा १०५ सांसदले मतदान गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले जम्बो मन्त्रिमण्डललाई घटाएर ११ को संख्यामा झारेका थिए । मन्त्रिमण्डलको संख्या घटेसँगै सत्ता गठबन्धनका दलबीच भागबण्डामा कुरा नमिल्दा अन्ततः उनले माघ ११ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।
केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनको प्रभाव प्रदेशमा पनि देखियो । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उनले फेरि विश्वासको मत लिनपर्ने भयो । एमालेले पनि प्रदेश सभामा दिएको समर्थन फिर्ता लियो ।
उनले कांग्रेसको साथ पाएर दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाए । विश्वासको मत पाएपछि सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । कूल ११ मन्त्रालयमध्ये अहिले माओवादीका ४ र कांग्रेसका २ मन्त्री छन् । ५ वटा मन्त्रालय नेतृत्वविहीन अवस्थामा रहेका छन् ।
जम्कट्टेले मुख्यमन्त्री बनेको भोलि (वैशाख ५ गते) एक सय दिन पुग्दैछ । उनी ६ गते आफ्नो एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने तयारीमा छन् ।