Logo

नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात



काठमाडौं, वैशाख ७ । चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा १० खर्ब ८३ अर्ब नाँघेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ। विभागका अनुुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि १८ दशमलव ८९ प्रतिशतले घटेको देखिन्छ। विभागको तथ्याङ्कअनुसार समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ०४ र निर्यातको हिस्सा आठ दशमलव ९६ प्रतिशत बराबर रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भारतसँग मात्र नेपालले छ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ। अर्थात् यो अवधिमा नेपालले भारतबाट सात खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा रू ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो।

अर्को छिमेकी मुलुक चीनसँग यही अवधिमा नेपालले एक खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ। अर्थात् चैत मसान्तसम्ममा नेपालले चीनबाट एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो।

संयुक्त अरब इमिरेट्स (युएई) पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रुपमा देखिएको छ। यो अवधिमा नेपालले युएईबाट २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ।

त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ।



प्रतिक्रिया दिनुहोस्