गुल्मी, ८ वैशाख । विकास समृद्धि सुशासनका लागी हाम्रो अभियान भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रम प्रदेशको पहाडी जिल्ला गुल्मीमा सम्पन्न भएको छ ।
देश संघीयतामा गएपछि स्थानीय र प्रदेश तहमा बढ्दै गएको बेथितिलाई न्यूनिकरण गर्न प्रदेशका सम्बन्धित पालिकाहरुलाई सुशासनको पालनालाई ध्यानमा राखी पारदर्शी र विकासे बजेटको सदुपयोग गराउने उद्धेश्यले गुल्मीमा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले स्थानीय पालिकालाई नियमन गर्ने निकायलाई नै नियमन गर्नुपर्ने आवश्यकता औल्याए । उनले बेरुजुको क्रम बढ्दै जानु सुशासन कायम नभएको बताए । यसप्रति आफूहरुको गम्भिर ध्यानर्काषण भएको बताउदै आगामी दिनमा देखिएका विकृति र बिसंगतिको न्युनिकरणका लागी संशक्त रुपमा लाग्ने बताए ।
कार्यक्रममा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुँवरले पालिकामा सुशासन नभए जनप्रतिनिधिको अस्तित्व नहुने बताए । जनताको माग र समस्यालाई हल गर्न सरकारी तथा गैरसरहकारी संस्थाहरुमा सुशासनको महत्व अपरिहार्य हुने सुझाव दिए ।
त्यसैगरी चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले आफुले आफ्ना पालिकामा सुशासनलाई चुस्त राख्दै अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष बेरुजुको दर घटाउन सफल भएको बताए । उनले बेरुजु बढ्नुमा जनप्रतिनिधि र कर्मचारी जिम्मेवार रहेको भन्दै प्राविधिक कुराहरु नमिल्नाले बेरुजु देखिने बताए ।
कोष लेखा नियन्त्रण कार्यालय गुल्मीका प्रमुख छविन्द्र बेलबासेले बेरुजु भनेको भ्रष्टाचार भन्न नमिल्ने दाबी गर्दै पालिकाका केही योजनाहरु निर्माधिन अवस्थामा हुने र लेखा परिक्षण हुने क्रममा काम सम्पन्न नभएकाले बिल बिजक प्रक्रियामा समयमा पेश नहुने भएकाले त्यस्ता योजनाहरुको बजेट बेरुजु देखिने तर्क गरे ।
कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले सहकारी प्रबद्र्धधनका लागी पालिका बजेट कम भए पनि उचित व्यवस्थापनका लागी पालिका लागी परेको समग्र विकास निर्माणमा कही कतै कमजोरी नहोस् भन्ने उद्धेश्यका साथ नगरपालिका लागीपरेको बताए ।
जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापाले सहकारी र नीजि क्षेत्रले गर्न नसकेको काम जनताको जीवनस्तर उकास्ने काम सहकारीले गरेको दाबी गरे । पालिकाहरुको लापरवाहीले गर्दा सहकारी बदनाम हुन पुगेको जिकिर गरे ।
त्यस्तै सुशासन अभियन्ता तथा अधिवक्ता विनोद पाण्डेले सुशासनको कुरा गर्ने तर व्यवहारमा लागु नगर्नालेले र निजामति कर्मचारीमा राजनीति हावी हुनु अनि जनप्रतिनिधिले सुशासनको पालना नगर्दा स्थानीय तहमा बेथिति बढेको ठोकुवा गरे ।
कार्यक्रममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले पालिकाहरुले गर्ने सार्वजनिक सुनुवाई पारदर्शी नभएको बताउदै तत्काल त्यसको प्रभावकारिताका लागी पालिकाहरु सचेत हुनेपर्नेमा जोड दिए ।
कार्यक्रममा गैरसहकारी महासंघका अध्यक्ष विष्णु प्रसाद भण्डारी,महेन्द्र माविका प्रअ कृष्ण प्रसाद मरासिनी,सिद्धमावि प्रअ डोर विक्रम श्री,फेडोका अध्यक्ष कमला बराल लगायतले आ आफ्नो धारणा राखेका थिए भने कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका सहायक प्रमुख गुणानिधि शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र पत्रकार नारायण वलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।