काठमाडौं, १० वैशाख । बारा-२, चितवन-२ र तनहुँ-१ को उपनिर्वाचनमा सुरक्षा प्रबन्ध मजबुत रहेको गृह मन्त्रालय र निर्वाचन आयोगले जनाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तीनवटै उपनिर्वाचन क्षेत्रमा सम्पूर्ण शान्ति सुरक्षा व्यवस्था मिलाएको बताए । बस्नेतका अनुसार मतदान केन्द्रको सुरक्षामा तीन घेरा छन् । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी छन् भने तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा टिम हुनेछ । उसले मतदान कन्द्रको नजिक रहेर निगरानी गर्ने पनि उनले बताए ।
प्रवक्ता बस्नेतले सुरक्षाका हिसाबले कुनै पनि कमीकमजोरी हुन नदिइने दृढता जनाए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले थपे, ‘चारवटा मतदान केन्द्रको बीचमा गस्ती, पिकेट र पेट्रोलिङ पनि हुनेछन् । सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।’
बारा-२ का लागि सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको पनि बस्नेतले बताए । उनले भने, ‘यसपटक कतै पनि बुथ कब्जा हुने छैनन् ।’ गृहसचिवको नेतृत्वमा केन्द्रीय कमान्ड पोस्ट र निर्वाचन आयोगमा सेल समेत रहेको उनले बताए । यसपटकको उपनिर्वाचनमा औसतमा मतदान हुने उनको विश्वास छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, भयरहित, निष्पक्ष वातावरणमा सम्पन्न गर्ने सम्पूर्ण व्यवस्था मिलाएको दाबी गर्दै मतदाताले निर्धक्क र निर्भय भएर मतदान गर्न सक्ने औंल्याए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पौडेलले भने, ‘म तनहुँ १ को दमौलीमा बसेर उपनिर्वाचनलाई नजिकबाट नियालिरहेको छु । ५०-५५ वटा बुथ अवलोकन गरेको छु । जताततै उत्साहपूर्ण माहोल छ ।’ विगतमा भन्दा आचारसंहिता पालनाको स्थिति सुधार आएको पनि उनले बताए ।
निर्वाचन आयोगका अनुसार बारा–२ मा १ लाख ५ हजार ११ मतदाता छन् भने ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् भने ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् । त्यस्तै, तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ र तनहुँमा सबैभन्दा थोरै राजनीतिक दलका ९ उम्मेदवार छन् ।