Logo

लुम्बिनी प्रदेशसभा : अझै गठन भएनन् संसदीय समिति



दाङ, वैशाख १२ । । लुम्बिनी प्रदेशमा संसद् सुरु भएको चार महिनासम्म पनि संसदीय समिति बनेका छैनन् । संसदीय समितिका लागि दलहरूबाट नामावली माग गरेको भए पनि सबै दलले विवरण नबुझाउँदा समितिले पूर्णता नपाएको प्रदेशसभा सचिवालयका प्रवक्ता सम्झना सुवेदीले बताइन् ।

“सबै दलबाट विवरण माग गरिएको छ, तर सबै दलले विवरण पठाउन सक्नुभएको छैन”, उनले भनिन्, “त्यसले गर्दा पनि समितिहरूले पूर्णता पाउन सकेका छैनन् ।”

समितिले पूर्णता पाएमा संसद् अझ प्रभावकारी हुन्छ । संसद् र सरकार चुस्त तरिकाले चल्ने भए पनि अझै पनि संसदीय समिति बन्न नसकेको प्रवक्ता सुवेदीले बताइन् । “कतिपय विधेयक समितिमा पठाउनुपर्ने हुन्छ”, उनले भनिन्, “तर समिति नबन्दा अहिले त्यसो हुनसकेको छैन ।”

समिति निर्माणको प्रक्रिया भने अघि बढिसकेको उनको भनाइ छ । प्रदेशको पहिलो अधिवेशन गत १८ पुसमा भएको थियो । प्रदेशसभाको गत तीन माघमा बसेको तेस्रो बैठकले सभामुख र उपसभामुख निर्वाचित गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्