काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत चितवन -२ मा प्रमुख तीन दलका उम्मेद्वारबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ ।
उपनिर्वाचनमा दलबाट उम्मेद्वारी दिएका १६ र ६ स्वतन्त्रसहित २२ उम्मेद्वारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेद्वार जितनारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेद्वार रामप्रसाद न्यौपानेले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् ।
भर्खरै सम्पन्न मतगणनाको अन्तिम परीणाम अनुसार रास्वपाका उम्मेदवार लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार जितनारायणले ११ हजार २ सय १४ मत प्राप्त गरी दोस्रो भएका छन् ।
उता सुरुवात देखिनै प्रतिस्पर्धामा दोस्रो भएर अन्तिममा तेस्रो भएका एमाले उम्मेदवार न्यौपानेले भने जमानत जोगाउन सफल भएका छन् उनले १० हजार ९ सय ३६ मत प्राप्त गरे ।
अहिले चितवन -२ मा मा कुल ७७ हजार ४ सय ३३ मत सदर भएको छ । जमानत (धरौटी) जोगाउनका लागि त्यसको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । कुल सदरको १० प्रतिशत पुर्याउन ७ हजार हजार ७ सय ४३ मत ल्याउनुपर्ने देखिन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा जमानत जफतसम्बन्धी व्यवस्था छ । “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ,” ऐनको दफा ७१ मा लेखिएको छ, “तर, निर्वाचित उमेदवारको हकमा यो कुरा लागु हुने छैन ।”
चितवन -२ को अन्तिम परीणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेद्वार जीवलाल पुरीले ३७५ ,मंगोल नेशनल अर्गनाइजेसनका उम्मेद्वार टेक बहादुर तामाङले २११,राष्ट्रिय जनमोर्चाका उम्मेद्वार जनकराज शर्माले ११० मत प्राप्त गर्दा अन्य १६ उम्मेद्वारले त एक सय मतसमेत कटाएका छैनन् ।
जय जन्मभूमि नेपाल पार्टीका उम्मेद्वार प्रेम खड्काले ७१,नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारीले ४२ मत पाउँदा राष्ट्रिय मुक्ति आन्दोलनका उम्मेद्वार छत्र पाख्रीनले ३८, राष्ट्रिय नागरिक पार्टीका उम्मेद्वार योगलाल श्रेष्ठले ४१ मत पाएका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार ज्ञानेन्द्र प्रजाले ४७ मत ल्याउँदा, स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका अम्विका भट्टले ३७,भाष्कर चन्दले २३,लक्ष्मी कोइराला बुढाथोकीले २१,सुमन श्रेष्ठले १९,महानन्द जैशीले १८,मोजराज वगालेले १६,विक्रम श्रेष्ठ १३,सुवास परियार १२,रामकृष्ण ओझाले ९,सन्तोष थापाले ३ तथा तारा प्रसाद पौडेलले १ मत प्राप्त गरि आफ्नो जमानत जफत गराएका छन् ।