काभ्रे, वैशाख १३। सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने गरी भएको निर्णय व्यवसायीको दबाबमा पाँच दिन पनि टिक्न सकेन ।
आफैँले गरेको निर्णयबाट पछि हट्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मङ्गलबारदेखि भारवहन गरिरहनु नपर्ने जानकारी व्यवसायीलाई गराएको छ । प्रशासनको निर्णयको सुरुदेखि विरोध जनाउँदै आएको बागमती टिप्पर व्यवसायी सङ्घलगायतका सङ्घ, सङ्गठन तथा व्यवसायी भने प्रशासनको निर्णयपछि हौसिएका छन् ।
प्रशासनको निर्णय एक साता पनि नटिक्ने दाबी गर्दै उनीहरूले यसअघि नै सामाजिक सञ्जालमा लेखेका थिए । प्रशासनको लोकप्रिय निर्णयको समर्थन जनाएका स्थानीय बासिन्दा भने भारवहन जाँच नहुने सूचनापछि निराश बनेका छन् ।
जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनअनुसार वैशाख ७ गतेदेखि जिल्लामा सञ्चालन हुने तथा जिल्लाबाट बाहिरिने टिप्परलगायतका मालवाहक सवारीको अनिवार्य भारवहन जाँच गर्नुपर्ने निर्णय गरेको थियो । प्रशासनको निर्णयपछि बागमती टिप्पर व्यवसायी सङ्घलगायतका व्यवसायीले शुक्रबारदेखि प्रशासनको निर्णयको विरोध गर्दै टिप्पर बन्दको घोषण गरेका थिए । तर स्वरोजगार चालकहरूले भने बन्द घोषणालाई साथ दिएका थिएनन् ।
पनौती क्षेत्रबाट मात्रै कम टिप्पर गुडे पनि अन्य क्षेत्रबाट भने साबिकको अवस्थामा टिप्पर सञ्चालन भएका थिए । सोमबार बागमती टिप्पर व्यवसायी सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घले प्रशासनको निर्णयविरुद्ध संयुक्त ध्यानाकर्षण पत्र बुझाएका थिए ।
त्यस्तै मङ्गलबार बागमती टिप्पर व्यवसायी सङ्घका पदाधिकारी, नेपाल ट्रक तथा टिप्पर व्यवसायी सङ्घ, भक्तपुर ट्रक व्यवसायी सङ्घलगायतका सङ्घ, सङ्गठनका पदाधिकारी तथा प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेपछि प्रशासन कार्यालय आफ्नो निर्णयबाट पछि हटेको हो । प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारीले आफैँले गरेको निर्णयमा गतिलोसँग खुट्टा नटेकेपछि टिप्परको पक्षमा निर्णय गएको आजको गोरखापत्र दैनिकमा खवर छ ।