Logo

विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा



पाँचथर, वैशाख १४। कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ ।

चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले बुधबार प्रवेश परीक्षा लिएको छ । विद्यालयका प्रधानाध्यापक बिनोदकुमार ठाकुरका अनुसार विद्यालयमै अध्ययनरत २ हजार १ सय ३३ जना विद्यार्थी छन् । नयाँ विद्यार्थी भर्ना गराउने अवस्था छैन । तर, विभिन्न कक्षामा नयाँ विद्यार्थी भर्ना गराउन दबाब बढेपछि अन्य विद्यालयबाट आएका १ सय ४३ जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको प्रधानाध्यापक ठाकुरले बताए ।

‘१ सय ४३ जनाको कोटामा ३ सय ५ विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि प्रवेश परीक्षा लिन बाध्य भयौं,’ प्रधानाध्यापक ठाकुरले भने । कक्षा १ भन्दा मुनि दुईवटा कक्षा (एलकेजी र यूकेजी) रहेको विद्यालयमा केजीदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ । करिब डेढ दशक अघिदेखि कक्षा ११ र १२ मा विज्ञान संकायसमेत पठनपाठन हुँदै आएको विद्यालयमा २०७६ सालदेखि कक्षा ९–१२ का लागि इन्जिनियरिङ विषय पनि सञ्चालन हुँदै आएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्