रुपन्देही, वैशाख १४ । लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि ८ दलको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज दिउसो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।
गठबन्धन दलको मंगलबारदेखि बुटवलमा जारी बैठकले यसअघिकै सहमतिअनुसार चौधरीको नेतृत्वमा जाने गरी दिउसो १ बजे दाबी पेश गर्न जाने सहमति गरेको हो ।
चौधरी दाङ क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । यसअघि मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गरेका थिए । सोही सूचनाकै आधारमा आज १ बजे प्रदेश दाबी पेस गर्ने चौधरीको सचिवालयले जनाएको छ ।
कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिइसकेका छन् । आज पनि ५३ जनाको हस्ताक्षर सहित दाबी पेस गर्ने तयारी रहेको चौधरीको सचिवालयले जनाएको छ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।
बहुमतको लागि ४४ सांसद आवश्यक पर्नेछ । यो सँगै लुम्बिनीमा कांग्रेस–माओवादीसहितको गठबन्धनबाट चौधरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । लुम्बिनीमा कांग्रेस संसदीय दल नेता चौधरीलाई मुख्यमन्त्री बनाउन माओवादीसमेत सहमत भएपनि लिखित नभएको रोकिएको थियो । तर मुख्यमन्त्रीसँगै मन्त्रालयको भागबन्डा नमिलेका कारण ढिलाइ भएको कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा माओवादीले अर्थ र भौतिकसहित ३ मन्त्रालय दाबी गरेको छ । काँग्रेसले भने अर्थ र भौतिकमध्ये एक मन्त्रालय आफूसँगै राख्न र माओवादीलाई दुई मन्त्रालय दिन चाहेको छ । कांग्रेसका एक सांसदका अनुसार काँग्रेसलाई ४, माओवादीलाई ३ र साना दललाई ४ गरी मन्त्रालय मिलाउने र पहिलो चरणमा सानो आकारको सरकार बनाउने सहमति भएको छ । आज दाबी पेश भएसँगै भोलि दिउसो सपथ हुने कार्यक्रम तय भएको छ ।