Logo

ओलीमाथि आक्रमणको प्रयास गर्नेलाई कारबाही गर्न माग गर्दै एमालले गरायो गृहमन्त्रीको ध्यानाकार्षण



काठमाडौं, १४ वैशाख । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गर्नेमाथि कारबाहीको माग गरेको छ । एमाले नेता एवं विदेश विभाग प्रमुख राजन भट्टराईसहितको टोलीले आज (बिहीबार) उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनाको बारेमा ध्यानाकार्षण गराएका हो । उक्त टोलीले घटनमा संलग्न जोसुकै भएपनि कानुनी दायरामा आउनु पर्ने र यस्ता प्रवृत्तिलाई राज्यले बढवा दिन नहुने भन्दै गृहमन्त्री श्रेष्ठको ध्यानाकार्षण गराएको छ ।

‘घटनामा जुन तत्वहरु संलग्न छन्, उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही हुनुपर्छ भन्ने हाम्रो भनाई छ । यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने कामहरु राज्यकै तहबाट, स्वयं प्रधानमन्त्रीले संवैधानिक प्रक्रियाबाट, कानुनी प्रक्रियाबाट टुंगोमा पुर्याइसकिएको विषयलाई यो गर्नु त ठीक रहेन छ भन्ने खाल्का अभिव्यक्ति दिनुभयो । त्यसले कानुन हातमा लिने प्रवृत्तिलाई प्रोत्साहित गरेको छ । सत्तासिन पार्टीकै कार्यकर्ताहरु यस किसिमका कार्यमा संलग्न हुनु दुःखद् कुरा हो । यसलाई नियन्त्रण गर्नुपर्छ भनेर हामीले गम्भीरता पूर्वक ध्यानाकार्षण गराएका छौं,’– गृहमन्त्रीसँगको भेटको बारेमा जानकारी गराउँदै विदेश विभाग प्रमुख भट्टराईले भने ।

साथै, उक्त टोलीले काठमाडौंको सरस्वती नगरमा गत हप्ता निरा पाण्डे आचार्यको हत्याको बारेमा पनि गृहमन्त्रीको ध्यानाकार्षण गराएको छ । हत्या भएको आठ दिन वितिसक्दा पनि घटनाको छानविन गर्ने गृह प्रशासन, मन्त्रालय र सरकारले तदारुकता नदेखाएको एमाले नेता भट्टराईको भनाई छ । यस विषयमा तत्काल छानविन गरी दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकार्षण गराएका छन् ।

‘काठमाडौं महानगरपालिकाको वडा नम्बर–६ सरस्वति नगरमा गत ७ गते बिहीबार दिनदहाडै आफ्नो व्यवसाय गरेर बसिरहेको चेली मारिन्छिन् । उनी मारिएको आज आठ दिन भइसक्यो । विभत्स हिसाबले मारिएको छ । तर, आठ दिनसम्म ति कुराहरु सत्यतथ्य बाहिर ल्याउने कुरामा नेपाल प्रहरी, गृहमन्त्रालय र सिंगो सरकारले जुनखाल्को तदारुकता देखाउनु पर्ने हो, त्यो देखाएको पाइएन । मुलुकको शान्ति सुव्यवस्थाको अवस्था के छ ? यसबारेमा धेरै भनिरहन पर्दैन,’– उनले भने ।

राज्यले नागरिकका न्युनतम हक अधिकारको प्रत्याभूति पनि दिन नसकेको उनको आरोप छ । अहिले नागरिकले सरकार भएको अनुभूतिसमेत गर्न नपाएको उनको भनाई छ । अहिलेको गठबन्धन सरकार एकपछि अर्को घटना गर्दै असफल भइरहेको उनको आरोप छ ।

‘राज्यमा नागरिकले न्यूनतम् पाउने कुरा के हो त भन्दा म यो मुलुकमा हिँडिरहँदा जहाँ जाँदापनि सुरक्षित छु भन्ने अनुभूति दिने न्यूनतम् कुरा हो । आधुनिक राज्यमा अरु कुरा पनि खोजिन्छ । तर, उसले प्राप्त गर्नुपर्ने न्यूनतम् सुरक्षाको कुरा पनि हुँदैन भने यहाँ सरकार छ कि छैन ? सरकारले के गर्छ भन्ने कुराका अरु विषयमा के होला ? त्यसो भएको हुनाले यो गठबन्धन सरकार जुन हिसाबले बनेको छ, एकपछि अर्को असफल हुँदै गएको छ । त्यसभित्र पनि न्यूनतम् आफूले पुरा गर्नुपर्ने कर्तव्य राज्यको जिम्मेवारीमा बसिसकेपछि, राज्यको सुविधा लिएर बसिसकेपछि दुःखद् कुरा हो । हामीले यो विषयका बारेमा भन्न आउनु पर्ने जुन स्थिति बन्यो, यस मामलामा हाम्रो पार्टीको गम्भीर ध्यानाकार्षण भएको छ,’– उनले भने ।

गुहमन्त्रीले कानुन हातमा लिन खोज्ने जोसुकै भएपनि छुट नदिने र सत्यतथ्य छानविन गर्ने वचन दिएको पनि भट्टराईले बताए । गृहमन्त्री र प्रहरी प्रमुखले दिएको वचनलाई व्यवहारमा आफूहरुले हेर्न चाहिरहेको उनको भनाई छ । एमाले पंत्ति आफ्नो र नेताहरुको सुरक्षाका लागि आफैं लाग्नुपर्ने स्थिति निर्माण नगर्न पनि उनीहरुले ध्यानाकार्ष गराएका छन् ।

‘नेकपा (एमाले) आफ्ना नेताको सुरक्षाका लागि र आफ्नो सुरक्षाका लागि एमाले पंत्ति स्वयं आफू लाग्नुपर्ने स्थिति र त्यो दुर्भाग्यपूर्ण अवस्था नआओस् भन्नेतर्फ हामीले उहाँहरुको ध्यानाकार्षण गराएका छौं,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्