Logo

आतंककारीको बिल्ला भिराए फेरि आतंक मच्चाउन बाध्य हुन्छौं : पूर्व जन्मुक्ति सेना प्रजा



काठमाडौं, १६ बैशाख । पूर्व जनमुक्ति सेना मंगोलसिंह प्रजाले आफूहरुलाई आतंककारीको बिल्ला भिराए आफूहरु फेरि आतंक मच्चाउन बाध्य हुने चेतावनी दिएका छन्।

शनिबार बहिर्गमित जनमुक्ति सेना नेपालले रिपोर्टर्स क्लब नेपाललमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व जनमुक्ति सेना प्रजाले आफूहरुलाई आतंककारीको बिल्ला भिराए आफूहरु फेरि आतंक मच्चाउन बाध्य हुने चेतावनी दिएका हुन्।

प्रजाले १० वर्षको जनयुद्ध लडेका लडाकुहरु कहिल्यै पनि अयोग्य नहुने भन्दै उक्त बिल्ला खारेज गरे। उनले १० वर्षे जनयुद्धकै कारण नेपालमा अहिलेको परिवर्तन सम्भव भएको स्मरण गराए। पैसा दिने सरकारको निर्णयको स्वागत गर्दै उनले भने, ‘केही खान पल्केका भिजिलान्ते राजनीतिकर्मीहरुले विरोध गरिरहेको सुन्दा अच्चम लागिरहेको छ।’

आफूपनि १३ वर्षको उमेरमा बन्दुक समातेर देशको लागि लडेको स्मरण गराउँदै प्रजाले अहिलेपनि आफूहरुलाई आतंककारीको बिल्ला भिराए आफूहरु आतंक मच्चाउन बाध्य हुने चेतावनी दिए। ‘हामीले बन्दुक बोकेर यो ब्यवस्था नल्याइदिएको भए हिजो संसदमा बोल्नेहरु जेलमा हुने थिए,’ उनले भने।

उनले भने, ‘नेपालका नेताहरु सामान्य बिरामी भयो भने अमेरिका, अष्ट्रेलिया चीन करोडौंकरोड राज्यको ढुकुटी पैसा लिएर उपचार गर्न जान्छन्। अनि देशको निम्ति लडेको मान्छेलाई यो मुक्ति सेना हो। जसले गर्दा आज तिमीहरु सांसद बन्न पाएको छ। जसले गर्दा आज तिमीहरु मन्त्री बन्न पाएको छ। यहीँ माओवादीको कारण यहीँ जनमुक्ति सेनाको कारण आज तेह्रथुममा भैसी गोठाला बसेका महिलाहरु राष्ट्रपति बने। समान्य गाउँमा बसेका ओनसरी घर्तीहरु सभामुख बने।’

बन्दुक बोकेर १० वर्ष नभएर जम्मा पाँच वर्ष लडेर देखाउन उनले अहिले विरोध गर्नेहरुलाई चूनौति दिए। उनले भने,‘अहिलेको यो ब्यवस्था फेरेर देखाउ। तिमीहरुलाई २ लाख होईन, जनही २० लाख दिनुपर्छ भनेर हामी माग गर्नेछौं। तिमीहरुको दम छ ? तिमीहरुलाई बन्दुक कस्तो हुन्छ अनि बन्दुकबाट निस्केको गोली कस्तो हुन्छ ?, तिमीहरुलाई थाहा छैन,’ उनले चेतावनी दिए।

सो क्रममा उनले लेनिन बिष्टलाइ उट्पट्याङ क्रियाकलाप नगर्न र राम्रो दिमागले सोचेर बोल्न आग्रह गरेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत दोहोरो भूमिका खेलेको आरोप लगाए। उनले भने,‘केही समय पहिले उहाँ (ओली) ले प्रचण्डलाई हामीलाई नहेरेको भनेर भन्नुभयो, अहिले हेर्दा किन हेरेको भनेर भन्दै हुनुहुन्छ ? यो दोहोरो चरित्र हो।’



प्रतिक्रिया दिनुहोस्