Logo

माधव-प्रचण्डका कार्यकर्ताबाट एमाले अध्यक्ष माथि आक्रमण : महेश बस्नेत



काठमाडौं, वैशाख १६ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई वैकल्पिक शक्ति भन्नेहरूसँग कुनै विचार, दृष्टिकोण, मूल्य र मान्यता नभएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको ३४ औ स्थापना दिवस तयारी भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै बस्नेतले उनीहरूले कुनै पनि विचारको प्रतिनिधित्व नगर्ने बताएका हुन् ।

नेता बस्नेतले उनीहरु संगठन, राज्य पद्धति कुनै पनि कुरामा विश्वास नगर्ने र व्यक्तिलाई जे लाग्यो त्यही सर्वोपरि हो भन्ने सोचका भएका नवउदारवादका प्रवर्तक रहेका कारण उनीहरू वैकल्पिक शक्तिको रूपमा नआउँने दाबी गरे ।

बस्नेतले नेकपा एमाले र राष्ट्रिय युवा संघलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा भने गम्भीर भएर लाग्नु पर्ने बताए । १६ देखि २५ वर्षका युवा समूहको बिचमा राष्ट्रिय युवा संघ नपुग्दा एमाले माथि साइवर आक्रमण भएको उनको विश्लेषण छ । त्यसैले त्यो समूहमा राष्ट्रिय युवा संघ नेपाल पुग्नु पर्नेमा उनले जोड दिए ।

सामाजिक सुरक्षा, विकास, समृद्धि, शिक्षा, स्वास्थ्य रोजगारीमा संवैधानिक ग्यारेण्टीको कुरा नेकपा एमालेले गरेको कुरा समाजमा बुझाउन आवश्यक रहेको उनले प्रष्ट पारे । देश विकासमा महत्पूर्ण योगदान कसैले गरेको छ भने त्यो नेकपा एमाले र केपी ओली नेतृत्वको सरकारले गरेको उनले दाबी गरे ।

देशमा डा गोविन्द केसी जस्ता शिक्षा विरोधी मानिसहरू रहेका कुरा नागरिकलाई बुझाउन आवश्यक रहेको बताउदै उनले नेपाललाई स्वास्थ्य शिक्षाको हबको रूपमा विकास गर्नुपर्छ भन्ने मुद्दा राष्ट्रिय युवा संघले बोक्नु पर्नेमा जोड दिए ।

नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली माथि भएको आक्रमणको सशक्त प्रतिवाद र विरोध गर्न बस्नेतले राष्ट्रिय युवा संघ नेपाललाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्