काठमाडौं,१७ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरू गरेको धर्ना आन्दोलनलाई समर्थन गरेका छन् । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजाले आज एक विज्ञप्ति जारी गर्दै पुनका जायज माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।
‘नेपालका मुर्धन्य वैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘ अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने लगायत मागसहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पूर्ण ऐक्यबद्वता छ,’ गर्बुजाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गराउन सडक र सदनबाट आफूले आवाज उठाउने समेत प्रतिबद्धता जनाए । ‘देशभक्त वैज्ञानिकले उठाएका मागहरुको सम्बन्धमा सडक र सदनबाट आवाज उठाएर साथ दिन तयार छु। सरकारले उहाँका मागहरुलाई अविलम्ब पुरा गरोस् भन्ने जोडदार माग गर्दछु,’ उनले भनेका छन् ।
पुनले विगत तीन दिनदेखि विभिन्न माग अघिसारेर माइतिघरमा धर्ना कार्यक्रम सुरू गरेका छन् । उनको धर्ना आन्दोलनलाई राप्रपा,रास्वपा लगायत दल तथा अन्य सांसद् एवं निकायहरुले समर्थन गरिरहेका छन् ।