काठमाडौं,१७ वैशाख । न्यायालय १४ महिना देखि नेतृत्वविहिन भएर कामुको भरमा चलेपछि नेपाल बार एसोसिएसनले आफ्नो तर्फबाट सरकारलाई दबाव दिन सुरू गरेको छ ।
दबावस्वरुप बारले आजबाट एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै बारले न्यायपालिकाको नेतृत्व तुरुन्तै नियुक्त गर्न सरकारसँग जोडदार माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘तदनुरूप न्यायपालिकाको विकृति, विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदासमेत सरकारले वास्ता नगरेपछि आन्दोलन गर्न बाध्य भएका छौ’ ।
प्रधानन्यायाधीश नियुक्ति लगायतका ८ वटा माग राखेर बार आजबाट आन्दालित भएको हो ।
बारले यसअघि संबैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,सभामुख देवराज घिमिरे लगायतलाई भेट गर्दै न्यायालयको नेतृत्व प्रदान गरिदिन पहल गर्न आग्रह गरेको थियो ।
पटक पटकको कोशिशले समेत काम नगरेपछि बारले आजबाट आन्दोलन थालेको हो ।
बारले आजबाट एक हप्तासम्म हातमा विभिन्न मागसहितका प्लेकार्ड लिएर आन्दोलन गर्ने ,एक हप्तासम्म पनि सरकारले माग पुरा नगरेका दास्रो चरणमा कडा रुपमा आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ ।
यस्ता छन् बारमा मागहरु
स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ,
न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर,
पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागू गर,
प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर,
सर्वोच्च अदालत लगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर,
संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाऊ,
संवैधानिक दायित्व पूरा गर,
संसदीय सुनुवाइ समिति गठन गर