काठमाडौं, १८ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारसँगको वार्ता आज पनि जारी रहने बताएका छन् ।
‘हिजो बेलुका साढे ५ बजेदखि राति ९ बजेसम्म सिंहदरबारमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री कार्यालय, शिक्षा, कानुन र अर्थ मन्त्रालयका प्रतिनिधिसँग वार्ता भयो । यसै गर्ने भनेर टुंगो लागेको छैन । आज दिउँसो ३ बजे फेरि वार्ता हुने कुरा छ । हेरौं, के हुन्छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पुनले भने ।
पुनले केही दिनदेखि राजधानीको माइतीघर मण्डलाको सडकमा दिनरात धर्ना दिइरहेका छन् । कानुन बनाउँदा विज्ञान, प्रविधि, अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने, विकास बजेटको कम्तीमा १ प्रतिशत बजेट छुट्याउँदै क्रमशः बढाउनुपर्ने आदि माग उनले सरकारसँग राखेका छन् । ‘हाम्रा चारवटै माग एकअर्कासँग सम्बन्धित छन् । एउटा माग पूरा भएन भने अरु मागको अर्थ हुँदैन,’ उनले भने ।
आफ्नो माग व्यक्तिगत भएर मुलुकै निम्ति भएकाले कुनै पनि मानेमा पछि नहट्ने पुनको दाबी छ । उनले थपे, ‘नेपालमा यस्ता आन्दोलन दिनदिनै हुन्छन्, यो पनि अरु आन्दोलनजस्तै हो भन्ठानेका होलान् । महावीर कति जिद्दीवाल र मूर्ख छ भन्ने अब थाहा पाउँछन् । म पछि हट्ने कुरै छैन । म जिन्दगीमा आजसम्म कुनै पनि काममा पछि हटेको छैन । यो मेरो व्यक्तिगत कुरा होइन । सरकार आफ्नै लागि पनि बाध्य हुनुपर्छ ।’ आफ्नो आन्दोलनको समर्थनमा ३६ जिल्लामा स्वतःस्फूर्त रुपमा आन्दोलन भइरहेको पनि उनले बताए ।