काठमार्डाैं, वैशाख १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड नेतृत्वको सरकारमा जाने वा समर्थन फिर्ता लिने भन्ने विषयमा आज छलफल गर्दैछ ।
रास्वपाले आज दिउँसो केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएर संसदीय दलको नेता चयनका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न लागेको हो ।
अहिले बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठकमा संसदीय दलको नेता चयनका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ ।
बैठकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल हुने जनाएको छ । उपसभापति अर्यालले शनिबार संसदीय दलको नेताबाट राजीनामा दिएपछि रास्वपामा अहिले उक्त पद रिक्त छ ।
१० वैशाखमा भएको उपनविर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । रवि फेरि संसदीय दलको नेता बन्ने तयारीमा छन् ।
आजकौ दुबै बैठकको पूर्वसन्ध्यामा रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।
सरकारमा सहभागी हुनुको औचित्य र आवश्यकता नरहेको प्रतिक्रिया दिदै आएका लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा गर्ने बताएका थिए ।
उनले सरकारको न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले भन्दै गम्भीर आपत्तिसमेत जनाउँदै आएका छन् ।