काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आजपनि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कडा टिप्पणी गरेका छन् । पछिल्ला दिन उनले ज्ञानेन्द्र शाहको आलोचनामा शब्द खर्चिने गरेका छन् । झापामा आफूमाथिको आक्रमण प्रयासमा पूर्व राजा शाहका परिवारका सदस्यको पनि संलग्नता रहेको उनको आरोप थियो । त्यसको भोलिपल्ट आज १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टीको भातृ संगठन जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले जनताले पाएको उपलब्धिविरुद्ध अनेक खालका शक्तिहरू सल्बलाउन थालेको आरोप लगाए ।
उनको उक्त आरोप पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित थियो । अहिले पूर्वराजा शाहले आफूअनुकूल परिस्थिति आयो कि आएन भनेर दुलोबाट हेरिरहेको ओलीको आरोप छ । उनले भने,‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्र र जनताले पाएको उपलब्धिको विरुद्ध, अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन्। कोही कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि। अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजक हुनुपर्छ।’
सो अवसरमा उनले भ्रम र भावनाबाट देश नबन्ने पनि दाबी गरेका छन् । उनले सही नीति र उद्देश्य राखेर देशलाई बनाउनुपर्नेमा जोड दिए । त्यसको लागि एमालेले सही नीति लिएको पनि उनको दाबी छ । Photo By: Mukunda Kalikote/ReportersNepal