Logo

दमौलीमा सेभ द हार्ट र व्यास नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क मुटु शिविर सम्पन्न, हजारौंले लिए लाभ (फोटोफिचर)



काठमाडौं, १८ बैशाख । तनहुँको दमौलीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट ७ हजार ६ सय ४२ जनाले लाभ लिएको आयोजक संस्था सेभ द हार्टका महासचिव शेरबहादुर रानाले जानकारी दिए ।

मुटु जोगाउँ, काठमाडौँ र व्यास नगरपालिकाको संयुक्त आयोजनामा दमौलीस्थित् बालमन्दिर माध्यमिक विद्यालयमा सम्पन्न शिविरबाट निःशुल्क मुटु परीक्षणका साथै आवश्यकताअनुसार औषधीसमेत वितरण गरिएको हो ।

विशेषत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट व्यास नगरपालिका क्षेत्रका विद्यार्थीसँगै अभिभावकहरु पनि लाभान्वित भएका छन् । स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरद्धारा सेवा प्रदान गरिएको शिविरमा ८ सय ९६ जनाको निःशुल्क इसिजी गरिएको थियो ।

यस्तै, ६ सय ६१ जनाले निःशुल्क रुपमा इको कार्डियोग्राफी सेवा लिएका छन् । शिविरमा ७ सय ९८ जनाको सुगर पनि परिक्षण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए । परीक्षणको क्रममा उक्त क्षेत्रमा धेरै त बाथ मुटु रोग भेटिएको डा. भट्टराईले जानकारी दिए । जन्मजात मुटु रोगीको संख्या र मुटुको नली ब्लक भएर हृदयघात हुने खतरा पनि अधिक मात्रामा देखिएकाले सचेत रहनुपर्ने डा. भट्टराईको भनाई छ ।

शिविरबाट ३६ जना शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका छन् । उनीहरुको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकाले स्थानीय सरकारसँग समन्वय गरी सेभ द हार्टले काठमाडौँमा निःशुल्क शल्यक्रियाको सेवा प्रदान गर्ने व्यवस्था मिलाइने सेभ द हार्टका महासचिव रानाले जानकारी दिए ।

उक्त शिविरबाट नागरिकले करिब ६८ लाख बराबरको सुविधा निःशुल्क पाएको पनि आयोजक संस्थाको दाबी छ । सो अवसरमा ११ लाख बराबरको औषधी वितरण समेत गरिएको छ ।

समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई लक्षित गरी शिविरहरु सञ्चालन गर्दै आएको बताए ।

सोही अवसरमा उनले सेभ द हार्टसँगको सहकार्य वार्षिक रुपमै गरी नगरक्षेत्रका विभिन्न ठाउँका नागरिकलाई निःशुल्क मुटु परीक्षणको अवसर प्रदान गर्ने योजना बनाएको बताए ।

व्यासमा सामान्य स्वास्थ्य केन्द्रबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भइरहेकाले यस्ता विशेषज्ञसहितका सेवा निरन्तर सञ्चालन गर्ने उनको प्रतिबद्धता छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा काठमाडौँ, पोखरालगायतका ठाउँबाट र इटलीबाट आएका चिकित्सक तथा स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए । सेभ द हार्टले मिसन बाम्बिनी इटलीसँग सहकार्य गरी देशभर शिविर सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष समेत रहेका भट्टराईले बताए । उनकाअनुसार हालसम्म एक सय १४ स्थानमा मुटु परीक्षणसम्बन्धी निःशुल्क शिविर सम्पन्न भइसकेको छ ।

जसबाट एक लाख २० हजार भन्दा बढी नागरिक लाभाविन्त भएका छन् । हालसम्म एक हजार भन्दा बढी जटिल समस्या भएका मुटुरोगीको संस्थामार्फत ओपनहार्ट सर्जरी सम्पन्न भइसकेको छ भने बाँकी बिरामी निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराइरहेका छन् ।

शिविरलाई मगर समाज सुधार समिति, दमौली, रोटरी क्लव अफ दमौली, रोट¥याक्ट क्लब अफ दमौलीको सहकार्य तथा नेपाल कार्डियो डायबिटिज एण्ड थाइराइड सेन्टरको प्रविधिक सहयोग रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्