काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अनिश्चित् बनेको छ। प्रधानमन्त्रीको सचिवालयले यसअघि बैशाखको तेस्रो साता प्रधानमन्त्री दाहाल भारत जाने बताउँदै आएको भएपनि भारतले भने उनलाई स्वागत नगर्ने संकेत देखाएको छ । खासगरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीको लागि नै परराष्ट्रमन्त्रीमा एन.पी. साउदलाई नियुक्त गरिएको थियो ।
साउदले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थालेका थिए । तर, भारतीय पक्षले भने प्रधानमन्त्री दाहाललाई स्वागत गर्न हतार नगर्ने संकेत गरेपछि अहिले साउदपनि त्यतातर्फ सक्रिय छैनन् ।
प्रधानमन्त्री दाहाललाई दिल्लीले स्वागत गर्न हतार नगर्नुको कारण भने नेपाली सेनाले ६ अर्व वरावरको एपिसी र हतियार चीनबाट खरिद गर्ने तयारी गर्नु रहेको खुलेको छ । प्रधानमन्त्री दाहाल र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको जोडबलमा नै नेपाली सेनाले चीनबाट २६ एपिसी, ७२ थान ट्याक्टिकल भेईकल र आवश्यक गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । यस्तै, सेनाले चीनबाट १० हजार थान सीक्यु राइफल खरिदसमेत गर्न लागेको छ । यसको लागि पनि प्रक्रिया अघि बढाईएको समाचार आएका छन् ।
यस्तै, सेनाले आफ्नो कल्याणकारी कोषबाट भारतको महेन्द्रा कम्पनीबाट चार वटा एपीसी खरिद गर्न लागेको छ । यसको लागि पनि सेनाले आवश्यक प्रक्रिया थालिसकेको छ । महेन्द्राको एउटा एपीसीको मुल्य तीन करोड ९८ लाख पर्ने बताईएको छ । तर, चीनबाट ल्याउन लागेको एपीसीको मुल्य भने सात करोड ७५ लाख रहेको छ ।
भारतको तुलनामा चीनबाट ल्याउन लागिएको एपीसीको मूल्य भने झण्डै तीन करोड महँगो छ । हतियार खरिद प्रकरणले भारत चिढिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यसबारेमा चासो राखेको बुझिएको छ । सेनाको लागि आवश्यक हतियार खरिदको लागि यसअघि देउवाले नै प्रक्रिया अघि बढाएको बताईएको छ । अहिले भने भारतसँग हतियार खरिद नगरी चीनसँग गर्न लागिएकोमा देउवापनि रुष्ट रहेको स्रोतको दाबी छ । चीनसँग हतियार खरिद गर्न प्रधानमन्त्री दाहाल र रक्षामन्त्री खड्काबीच मात्रै आवश्यक छलफल भएको बताईन्छ ।