काठमाडौँ, २० वैशाख । कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताए । नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर ग¥यो । अनलाइन सञ्चार माध्यम विस्तार हुनु कोरोनाकै ‘बाइ प्रोडक्ट’ भएको उनको तर्क छ ।
कोरोनाले छापा पत्रकारितामा पारेको असरका विषयमा उक्त सञ्जालले अध्ययन गरेको थियो । कोरोनाकै कारण सहजरूपमा पत्रिका छापिएर वितरण हुन नसकेकाले सामाजिक सञ्जालमा समाचारका सामग्री आउने क्रम पनि बढ्यो । कोरोनापछि केही अनलाइनले राज्यको नियमनमै रहेर पनि पत्रकारिता गरिरहेका छन् ।
कोरोनाका बेला पत्रिका छापिएर वितरण हुन नसक्दा पत्रकार एवं कामदारले समयमा तलब पाउन सकेनन् । कोरोनापछि अर्थ व्यवस्था पनि बिग्रिएकाले पत्रिकाले विज्ञापन पाउन सकेनन् । राज्यले पनि तुलनात्मकरूपमा बढी जिम्मेवार भएर पत्रकारिता गरिरहेको छापामाध्यमलाई पुरानो अवस्थामा फर्काउन काम गरेको अनुभूति नभएको अध्यक्ष त्रिपाठीले बताए ।
पत्रकारिताले राजनीतिक क्षेत्रका प्रश्न पनि उठाउने भएकाले राज्यका तर्फबाट त्यस्तो प्रयास हुन नसकेको उनको भनाइ छ । “पत्रकारिताको विश्वसनीयता घट्दा राजनीति गर्ने र भ्रष्टचार गर्नेलाई तुलनात्मकरूपमा सजिलो हुने भएकाले यस्तो भएको हो, पत्रकारिताको विश्वसनीयता रहिरह्यो भने सुशासन र राजनीतिक स्थिरता कायम हुनसक्छ”–पत्रकार त्रिपाठीले भने ।
कोरोनाले साना छापा माध्यमलाई त अझ बढी असर पारेको छ । लोकतान्त्रिक छापा माध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी थोरै लगानीका छापा माध्यमको अवस्था कोरोनापछि झनै खराब बन्न पुगेकाले कोरोनापछि तिनको पेज र सङ्ख्या दुवै घटेको बताए ।
केही छापा कोरोनापछि अनलाइन संस्करणमा गए पनि केही भने बन्द र केही घिटीघिटीको अवस्थामा रहेका छन् । कोरोनापछि छापामाध्यममा ५५ प्रतिशतसम्मले गिरावट आएको उनको भनाइ छ । पहिले पत्रिकामै आउने समाचार कोरोनापछि अनलाइनमा आउन थालेका छन् ।
कोरोनापछि पत्रिका र त्यसमा काम गर्ने पत्रकारको अवस्था दयनीय बन्न पुगेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले बताए । आर्थिक सङ्कटका कारण सञ्चार गृहले समयमै तलब दिन सकेनन् । तलब नपाएपछि पत्रकार पनि अन्यत्रै लाग्न थाले । विसं २०७६ चैत ११ गतेदेखि कोरोना महामारीकै कारण देशभर बन्दाबन्दी (लकडाउन) गरियो । पत्रकारितालालाई अत्यावश्यक पेशाका रुपमा सञ्चालन हुन दिने भनिए पनि व्यावहारिकरूपमा त्यति सहज थिएन । वि.सं. २०७६ फागुन २२ गतेदेखि नै काउन्सिलले पत्रकारलाई संयमित भएर काममा लाग्न आह्वान गरेको थियो ।
नेपाल पत्रकार महासङ्घसँगको सहमतिमा काउन्सिलले बन्दाबन्दीको अघिल्लो दिन अर्थात् २०७६ चैत १० गते कोरोनासम्बन्धी विशेष निर्देशिका जारी गरेको थियो । रासस