काठमाडौं, वैशाख २१ । देश दौडाहा गर्दै सक्रियता बढाइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन् । करिब डेढ महिनाअघि सिलगुढी हँुदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित भोली वैशाख २२ गतेदेखि भारतको लखनउ जान लागेका हुन्।
लखनउमा पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा, पूजालगायत दुई दर्जन टोली भारत भ्रमणमा निस्कन लागेको बताइएको छ । तर, पूर्वको झापाबाहेक अन्य जिल्ला भ्रमणमा ननिस्किएका पूर्व युवराज पारस भने निर्मल निवासमै रहेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेको बताइएको छ । उनले लखनउमै १० दिन बिताउने हो वा नयाँ दिल्लीलगायत अन्य राज्यको पनि भ्रमण गर्ने भन्ने विषयमा टुङगो लागेको छैन । उच्च स्रोतका अनुसार भ्रमणको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन् भने ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तरप्रदेश सरकारले नै लिएको छ । पूर्वराजा ज्ञानेन्द्रका निजी सुरक्षाकर्मी नेपालगञ्जमै रहनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा नेपालगञ्जको विभिन्न कार्यक्रममा सहभागी हुन नेपालगञ्ज पुुगेका ज्ञानेन्द्र परिवार स्थलमार्गबाट लखनउ भ्रमणमा जानेछन्। भ्रमणमा केही सहयोगी, निजी सचिव डा सागर तिमल्सिना र परिवारका सदस्यबाहेक अन्य कसैलाई पनि भारत भ्रमणमा निम्तो गरिएको छैन । भारतमा रहँदा पूर्वराजाले गोरखनाथ मन्दिरलगायत धार्मिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम तय भएको छ भने सबै कार्यक्रम गोप्य राखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।