काठमाडौं, २१ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार पदभार ग्रहण गरेका छन्।
आजै राष्ट्रपति निवासमा शपथ ग्रहण लगत्तै पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री बस्नेतले पदभार ग्रहण गर्दै स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन्।
उनले नियमित सेवा बाहेक सरुवा रोग फैलिन नदिन विभिन्न निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्।
यस्तै, उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने र अस्पतालहरुमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए/नभएको अनुगमन गर्न अनुगमन समिति बनाउने निर्णय गरेका छन्।
यी हुन् मन्त्री बस्नेतले गरेका चार निर्णय
१. स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई संक्रामक एवं महामारीको रूपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने ।
२. स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाएर स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने ।
३. आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रो, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने ।
४. स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालहरूबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए/नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहाय बमोजिमको अनुगमन समिति गठन गर्ने ।
https://www.facebook.com/ramchandra.dulal.77/videos/617891303713748