काठमाडौं, २१ बैशाख । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले मन्त्रालयको काममा १८ घण्टा खटिने उद्घोष गरेका छन्।
बिहीबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री लिम्बुले मन्त्रालयको काममा १८ घण्टा खटिने उद्घोष गरेका हुन्।
उनले देखिने र धेरै मानिसको चित्त बुझ्ने गरी काम गर्ने बताए। केही समय अध्ययन गर्न समय लाग्छ र आफू काममा विश्वास गर्ने मानिस भएको बताउँदै उनले भने, ‘हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीहरुले देखाइरहनुभएको छ। म १८ घण्टाको समय दिएर काम गर्नेछु।’
समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव भएको बताउँदै मन्त्री लिम्बुले खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्ने बताए।