Logo

नेपालमै फरक ब्लड ग्रुपको मृगौला प्रत्यारोपण, अब फरक ब्लड ग्रुप हुँदा पनि फरक नपर्ने



काठमाडौंं, वैशाख २२ । मृगौला प्रत्यारोपण शुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरूले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् ।

फरक ब्लड ग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि नै एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट हो ।

सामान्यतया मृगौला प्रत्यारोपणमा मृगौला फेल भएको व्यक्तिलाई उसैको ब्लड ग्रुपसँग मिल्ने व्यक्तिले मात्र मृगौला दिनसक्ने र त्यस्ता मृगौला मात्र प्रत्यारोपण हुँदै आएकोमा नर्भिकमा हालै फरक ब्लड ग्रुपबाट प्राप्त मृगौलाको जटिल मानिने प्रत्यारोपण समेत सफलतापूर्वक सम्पन्न भएको हो ।

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा। आरके अग्रवाल तथा वरिष्ठ मृगौला रोग तथा मृगौला प्रत्यारोपण विशेषज्ञ डा। सुमित आचार्य नेतृत्वको टोलीले निकै दुर्लभ र जटिल मानिएको मृगौला प्रत्यारोपण गरेको हो ।

नर्भिकमा हालसम्म सतप्रतिशत सफलताको रेटसहित ७ वटा मृगौला प्रत्यारोपण भइसकेको छ । त्यसमध्ये छैठौ पटकको प्रत्यारोपण निकै जटिल र दुर्लभ रहेको डा आचार्यले बताए ।

उनका अनुसार बिरामीको मृगौला प्रत्यारोपण अघि र पछि उसको रगतमा एन्टिबडीको स्तर कम गर्न र दाताको मृगौलालाई अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो । यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य खालको मृगौला प्रत्यारोपणको तुलनामा यो जटिल विधि रहेकोले यसको शुल्क भने केही महङ्गो पर्छ ।

मृगौला फेल भई नर्भिकमा उपचाररत एक ७२ वर्षीय पुरुष बिरामीलाई ६५ वर्षीया महिला दाताबाट प्राप्त मृगौला प्रत्यारोपण गरिएको हो । मृगौला प्राप्त गर्ने बिरामीको ब्लड ग्रुप ‘ओ’ थियो भने दाताको ‘ए’ थियो ।

नेपालको सन्दर्भमा यस्तो प्रत्यारोपण निकै दुर्लभ हो । ‘नर्भिकको टिमले जोखिम पूर्ण मानिने यो काममा सफलता प्राप्त गरेको छ ।’ डा। आचार्यले भने, ‘जटिल विधिबाट उपचार गरी मृगौला प्रत्यारोपण गरिएका व्यक्तिलाई हामीले ६ दिनमै डिस्चार्ज गरेका थियौं । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’

उनका अनुसार हालसम्म नर्भिकमा मृगौला प्रत्यारोपण गरिएका अन्य बिरामीहरुको अवस्था पनि सामान्य रहेको छ । ‘हामी सतप्रतिशत सक्सेस रेटसहित मृगौला प्रत्यारोपणमा नयाँ नयाँ आयाम थप्दै अगाडि बढेका छौँ ।’ उनले थपे– ‘यस्ता हाइ रिस्क ट्रान्सप्लान्टका लागि विदेश नै जानुपर्ने वाध्यता अब अन्त्य भएको छ । यो सबै नेपालीका लागि समेत खुशीको कुरा हो ।’

 



प्रतिक्रिया दिनुहोस्